अालेख: कामरेड ! दशैंको शुभकामना दिँउ वा श्राप ?




२०७५ कात्तिक १ बिहीवार
Newsdesk Shikharnews

कयौं आमाहरूका काख रित्तिए। धेरै आमाका छोराछोरिहरु बेपत्ता भए। अनि कति आमाका सन्तानहरु अंगभंग भए। सन्तान गुमाउँदाको पिडाले अझैपनी हजारौं आमाहरु आँसुमा डुवेकाछन्। एकैछिन फगत कसैको लागि हाँसिदिए पनि मुटुभित्र गाँठो परेको घाउ एकान्तमा चहराईदिन्छ । अनि भक्कानो छाडेर रुन्छन्  आमाहरु। सन्तान गुमाउँदाको वियोगान्त परिवेशलाई एकैछिन भएपनी भुल्न खोज्छन् तर त्यति सजिलो कहाँ छुर त्यो भयावह पिडाको कारखाना। देश एक समय युद्धमा थियो। त्यो युद्धले थुप्रै आमाहरुलाई रुवायो। मेरि आमा पनी रोईन धेरैफेर। म स्वयं युद्धमा सरिक भएँ। तर ‘म मरेर भन्दा पनि मर्छकी’ भन्ने पिडामा रोईन मेरि आमा। त्यो भन्दा धेरै पटक अझै अर्को पिडाले रोएकीछिन उनि। र , आज पर्यन्त पनि रोई रहन्छिन्।

अन्य बखत हाम्रो अघि खासै आँसु देखाउदैनीन्। जब दसैं तिहारमा टीका लगाउन हामी तिनभाई लस्करै बस्छौं, अनि आमाका आँखाहरुले अर्को कसैलाई खोज्न थाल्छन्। घरका हरेक कुना देखि लिएर हाम्रो छेउँछाउँसम्म हेर्दापनी ती मान्छेलाई नपाएपछि अनायासै रसाउन थाल्छन् आमाका आँखाहरु। केहिवर्ष अघिसम्म बेखबर जेठो छोराको खोजिमा रसाउने आमाका ती बृद्ध आँखाहरुमा अचेल झनै बोझ थपिएको छ। बुवापनि हाम्रो माझबाट ओझेल परेदेखी आमाका आँखाबाट बग्ने आँसुको मात्रामा झनै वृद्धि भएको छ। म जान्दछु, आमा कुरा नबुझेर रुनुभएको होईन। थाहा छ उहाँलाई कि रोएर केही पाईदैन। यद्यपि मनमा गढेर बसेको घाउ चहराउँछ, खेप्न सक्नुहुन्न, अनि रुन थाल्नुहुन्छ। जब आमा आफू आँसु बगाइ रहनुहुन्छ, अनि हामिलाई शतआयुको आशिर्वाद दिनुहुन्छ। अन्य सदस्यपनी प्रत्येक दशैंमा आमासँगै रुथ्यौं। यद्यपि आजको दशैंमा भने सबैजना हाँसिखुसि जम्मा हुनेछन् । टिका जमराको तयारी गर्नेछन् र साइत भएपछि परदेशमा रहेको ‘साँईलो’ छेउछाउमा खोज्नेछन् ।आँखाले कतै नभेटेपछि सम्झिने छन् र परिवारका सबै सदस्यका आँखा रसाउनेछन्।

वाल्य अवस्थामा कुन असत्य माथी कहाँको सत्यले जितेर दशैं मनाइन्छ पत्तो थिएन। मात्रै रावण भनेको गलत र दुर्गा भनेको शक्तिशाली र सत्य भन्ने बुझिन्थ्यो। गर्नुपर्ने औपचारिक पुजा आरधना आमाबुबाले गर्नुहुन्थ्यो। हामिलाई आफ्नो छुट्टै रन्को हुन्थ्यो । बिहान उठ्न ढिलो भएर अरु कसैले जमरामा पानी हाल्यो कि, संसारै हारेझैँ लाग्थ्यो। जमरामा पानी हालेको दिन, गाउँ पुगेर आठ ÷ दस पल्टसम्म घुमाइ फिराइ त्यही कुरो सहपाठीहरुलाई सुनाइन्थ्यो। बडो गौरव महशुस हुन्थ्यो। धर्मकर्म भन्दापनी आनन्दाभुति प्राप्तिकालागी गरिन्थ्यो ती कार्यहरु। बाल्य अवस्थामा देवता खुशीपार्न भन्दापनी आफ्नो आत्मा सन्तुष्टीका लागि त्यस्ता काममा कम्मर कसेरै लागिन्थ्यो। पर्व र पुजाआजा भन्दा अन्य घरायसी कामहरुमा त्यति जाँगर नचलाए पनि कहिलेकाहीँ आमाबुवाले नचिताएको काम पनि गरिन्थ्यो। झोक चलेको बेला दैलो पोत्नेदेखी परिवारको सबैले खाएका भाँडाकुँडा माझ्नेसम्मका कामपनि बाँकी राखिएन। दशैं त वाल्यकाकै साह्रै रसिलो। उतिबेलाको उत्साह अब खोजेर कहाँ पाउनु ? छताछुल्ल भएर घरको दैलोमा पोखिने त्यो बेलाको दशैंमा बिछट्टै आनन्द थियो। समग्रमा भन्दा अग्रजहरुले दिने दक्षिणा, अलिकति चिउरा, अलिकति भात, तीनगुणा झोल भएको मासुको तरकारी र उस्तै परे हामि केटाकेटी लाई वर्षभरी पुग्ने नयाँ लुगा, यत्तिमै आउँथ्यो दशैं। मैले सुरुवातमै यो किन अर्थ्याएको भने, हाम्रो पनित सानो रहर थियो, सानै भएपनि परिवार थियो, र सबैभन्दा ठूलो एउटा असीमित खुसिपनि थियो।

छोटकरीका भन्दास् न्याय र अधिकारका लागि भन्दै देशमा चलिरहेको जनयुद्धको रापले हामिलाई पनि आकर्षित गर्दै लग्यो। बढ्दो उमेरसँगै देश तातिदै जाँदा हामीमा पनि गरमागरमी बढ्यो। स्कुलको पाठ्यक्रम भन्दा भित्तामा ठुलाठुला अक्षरमा लेखिएका देश प्रेम र उन्मुक्तिका गगनभेदी नाराहरु हाम्रो मस्तिष्कमा नाच्न थाले। ‘शोषक, सामन्तिहरु मास्नु पर्छ । जिन्दगी भर हलो जोतेर पनि साँझ बिहानको छाक टार्न हम्मेहम्मे पर्ने हाम्रै ‘बा’जस्ता दिनदुखिहरुको सुदिन ल्याउनु पर्छू भन्ने क्रान्ति ज्वारले मानसपटलमा एकछत्र राज गर्‍यो।’राजा महाराजाहरुको अलिसान दरबार उभ्याउने एउटा मजदुर त्यही दरबार मुन्तिरै सिटामोल नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य क्रान्ती र विद्रोह बिना संभव छैनू भन्दै एउटा बिछट्टै यात्रामा निस्किइयो। क्रान्ती नायकहरुले हाम्रा कलिला हाथमा बन्दुक थमायर, रोल्पाका चिहान डाँडामा लाइन लगएर भन्ने गर्थें ूकामरेडहरु हामिले दसैं र दिपावली त भोकाले गाँस, पिडितले बास र नाङ्गाले कपास पाएपछी मनाउने हो। यो आदर्श र निस्वार्थ भावनाका साथ आमाबाबुको हजारौं विन्तीहरु लत्याउँदै भर्खरै सिक्दै गरेको किताबी अक्षरहरुलाई बुर्जुवा शिक्षाको संज्ञा दिएर रणमैदानमा होमियौं।

‘धर्म भनेको अफिम हो’ भन्ने सिद्धान्त मस्तै घोकाइयो!! हाम्रो समाजमा आउने तिज, दशैं र तिहारजस्ता पर्वहरु शोषकहरुले हामिलाई रनभुल्ल पार्नको लागि बनाएका तिथिमिति हुन् भन्ने पाठ सिकाइयो। यी सबै रुढीबादी परम्परा अन्तर्गत शोशीतहरुलाई बाँध्नका लागि बनाइएका असमान जंजिरहरु हुन् भनेर रटाइयो। जाँडरक्सी, जुवातास र महिलाहरुले गहनाको रुपमा पहिरिने सुनजन्य वस्तुहरु हामिलाई कैद गर्ने यन्त्र हुन् भनेर सुझाइयो। हामिले दशैं, तिहार र हरेक उत्सवहरु, सम्पुर्ण उत्पीडित वर्गको जित भएकोदिन मनाउने हो भनेर विश्वस्त पारियो। यस्ता विधि र पद्धति कति पढाइयो भन्नेकुरो सबै यहाँ वर्णन गर्दा खल्लो महसुस होला। अझ धेरै विषयमा त यो आलेख पढिरहनु भएको तपाइँ झनै जानकार हुनुहुन्छ।

कथनी र करणि नमिल्दा हिजोको सिद्धान्त आज फगत गफमा परिणत भयो। बिस्तारै खोला उल्टो बग्न थाल्यो। थिती भन्दा बेथिति हावि हुँदै गयो। हिजोका गगनभेदी नाराहरु उनिहरुको हकमा भँगेरिले समुन्द्र सुकाउँछु भनेर चुच्चामा पानी बोकेजस्तो वेतुक बन्न पुगे। युद्धका घाइते, अपांग र शहिद परिवारसँगै सिङ्गो उत्पीडित वर्गको सपनाहरुको भयंकर ब्यापार गर्न थालियो। हेर्नुस आस्था र स्वाभिमानहरु आज आएर बेचबिखनको लागि स्टलमा राखिएक वस्तु सरह मोलमोलाइ भइरहेकाछन् । सक्नेले खरिद गरिरहेकाछन् । र मनलाग्दी प्रयोग पनि गरेकाछन् ।

उता:घाइतेहरुको शरीरको घाउ पाकेको छ। शहिद परिवार अभावको भुग्रोमा जेलिएको छ। बेपत्ता परिवार पश्चातापले हुँडलिएकोछ। बहिर्गमित भनेर घर फर्काइएकाहरुको कथा झनै भयावहछ। जर्जर संकटकालमा पहरा दिएर सत्तासम्म पुर्‍याउने इमानदार सिपाहीहरु खाँडि र मलेसियामा बालुवा चालिरहेकाछन् । परिवर्तनको सपना देखाएका आम भुइँमान्छेहरुले धारे हात लगाइरहेकाछन् ।

यता:तिज आउनै नहुने भो। हिजोका मै हुँ भन्ने महिला छापामारहरुको घाटिमा मुठ्ठीले नभेटाउने छड्के तिलहरी देखिन्छन्। भट्टी पसल पिच्छे हिजो जाँडरक्सी घोप्ट्याउने कमान्डरहरु भेटिन्छन्। तासको खाल उनै क्रान्तिकारीको अँखडा बनेको छ। खुङ्खार कमाण्डरको जन्मोत्सवमा तामझाम सहित दुनियाँ जिल्ल पर्ने केक काटिएकोछ। महिनादिन पहिलेदेखि दशैं उनै सौभाग्यसाली कामरेडलाई आएकोछ। रुद्री, सप्ताह, चण्डिपाठमा पुरै घोरिएकोछ। भोज, भतेर अनि मोज, मस्ती सबै उनैलाई आएको छ। बस! साम्यवाद नै आएकोछ। आफ्नो अलिसान महलको बार्दलिमा उपरखुट्टी लगाएर बस्नु भएका महान कामरेड ! अब भन्नुस् त !यो सम्झिदै गिदि हिनहिनाउने परिवेशमा तपाइँले मनाउँदै गरेको दशैंको लागि हजुरलाई म शुभकामना दिँउ या श्राप ?

( उमेश बन्जाडे,लमही दाङ, हाल: परदेश)