राष्ट्रपतिबाट टीका ग्रहणका आयाम,

सनातन धर्म माथी योजनावद्ध प्रहारको पछिल्लो कसी !




२०७५ कात्तिक ८ बिहीवार
Newsdesk Shikharnews

यो आलेख कुनै धर्मप्रति लक्षित नभै विशुद्ध समसामयिक घटनाक्रमको विश्लेषण मात्र हुदा हुदै पनि वर्तमान घटनाक्रमहरु कहीं न कहीं धर्ममै जोडिएर सार्वजनिक भैरहेको हुंदा सर्वप्रथम धर्मका सम्वन्धमा कार्ल माक्सको व्याख्या स्मरण गराउन चाहन्छु । उनले भनेका छन् “धर्मको विरुद्ध हिंसात्मक कारवाही गर्नु निरर्थक छ । समाजवादको विकास सँगसँगै धर्म गायब हुँदै जानेछ । र, धर्मको लोप सामाजिक विकासको कारणले हुनुपर्दछ । यसमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ ।” सरल भाषामा यसको अर्थ हुन्छ कुनैपनि राष्ट्रमा सामाजिक र आर्थीक विकाश हुन्छ या अझ भनौं देश धनी र शिक्षित हुन्छ त्यहाँ धर्म आफैं गौंण हुदै जान्छ । यस परिभाषाको पछिल्लो र दह्रिलो उदाहरण हो दक्षिण कोरिया, जहाँ हाल करिव १०५ भन्दा बढी मानिस यो वा त्यो धर्म नभै पुर्ण रुपमा नाष्तिक छन् अझ यो संख्या बढ्ने क्रममा छ । धर्मका वारेमा यो भन्दा धेरै नबोलौं ।

लागौ प्रसंग तिर, राष्ट्रपतिबाट टीका ग्रहण कार्यक्रम आवश्यक थियो वा थिएन ? टीका थाप्ने र लगाईदिने विच आसनको तादम्यता मिल्यो वा मिलेन ? या यसमा राष्ट्रपतिको कमजोरी की ब्यवस्थापनको कमजोरी ? यि यावत् कुराको एउटा पाटो हुनसक्ला र स्वस्थ बहस पनि गर्न सकिएला तथापि महत्वपूर्ण र हेका हुनुपर्ने कुरा के हो भने हिन्दु धर्म र संस्कारमा मान्यजन दुई किसिमका हुन्छन् । पहिलो उमेरका आधारमा र दोश्रो पदिय तथा जिम्मेवारीका आधारमा । आलाङ्कारीक नै भएपनि संविधानत राष्ट्रपति पदिय आधारमा आम नागरिककी मान्यजन या भनौं आमा हुन् । हिन्दु परम्परा अनुसार मान्यजनसंग टीका लगाउन जांदा टीका थाप्नेको होईन की टीका लगाईदिनेको सहजता हेरिन्छ किनभने टीका लगाईदिने मानिस मान्यजन हो । यसैलाई संस्कार भनिन्छ ।

यस्ता सामान्य कुराहरुलाई उछालेर तिललाई पहाड बनाउनु धर्म र संस्कारकै अपमान हो । हेक्का रहोस् कसैले दशैं हाम्रो होईन, दशैं मनाउंदिन र टीका लगाउंदिन भन्न सक्छ तर दशैं र यस संग संवन्धित संस्कारको अपमान गर्ने अधिकार कसैलाई छैन् । तसर्थ यो यतिनै मात्रमा उछाल्न आवश्यक थियो रु या यो तीव्र बहस ब्यक्ति विशेषको चरित्र वा आचरणप्रति मात्र लक्ष्यीत हो ? या निशाना वर्तमान ब्यवस्था तथा सनातन धर्म संकृति र रितिरिवाज विरुध्द हो ? यो बुझ्नु अत्यन्त आबश्यक छ । विरोधका लागि विरोध गरिनु वाञ्छनिय हुंदैन । विरोध किन र के का लागि गर्ने स्पष्ट हुनु जरुरी छ । आज टीका ग्रहणको सामान्य मानविय त्रुटीलाई यति विघ्न टिका-टिप्पणी गरेर उछाल्नेहरुले यदि राष्ट्रपति र प्रधानमन्त्रीबाट टीका ग्रहणको कार्यक्रम नराखेको भए के भनि विरोध गर्थे होलान् सहजै अनुमान गर्न सकिन्छ किनभने हिजो प्रचण्ड प्रधानमन्त्री हुंदा टीकाका दिनमा खालि निधार स-परिवारको तस्वीर उपर पनि धर्म बेचुवा, अधर्मी आदी उपनाम दिएर धारे हात लगाउने र विकाशको बाधक हिन्दु धर्म हो भन्ने अनि दशैंमा साईत हेराएर बाबुको हातबाट टीका थाप्ने बाबुरामलाई ढोंगी भनि विरोध गर्नेहरु पनि यिनै हुन् ।

दशैं टीका प्रशंगमा टिका-टिप्पणी राष्ट्रपतिको गरिएपनि यस सन्दर्भमा ओलि जोडिनु असान्दर्भिक होईन कारण उनी देशका कार्यकारी हुन् । वर्तमान प्रधानमन्त्री ओलीलाई जसले जस्तो रुपमा चित्रण गरेता पनि वास्तवमा उनि एक शैक्षिक सर्टिफ़िकेटका हिसावले सबै भन्दा कम पढेका तर देश र समाजको मनोविज्ञानलाई धेरै नजिकबाट बुझेका एक अनुभवी नेता हुन् । यतिखेर उनी दुई नितान्त फरक (पहिलो केही पुरातनवादी विचार र दोश्रो आधुनिकतावादी भनिएको तर उश्रृङ्खल) विचारका विच चेपुवामा चेपिन पुगिरहेका छन् । जुन दुवै विचार नयां नेपाल निर्माणका लागि प्रत्युत्पादक छन् । तथापि मलाई लाग्छ, उनका लागि दोश्रो भन्दा पहिलो विचार नै केही सहज हुनसक्छ कारण पहिलो विचारको एकमात्र स्वार्थ भनेको आफ्नो सदियौं देखिको रीति रिवाज र धर्म संस्कृतिलाई जिवन्त राख्नु हो बाकी केही छैन् । तर यहां दोश्रोको स्वार्थ बहु आयामिक छन् । यो स्वार्थ धेरै संग जोडिएको छ यिनीहरु समाजको कुरीति र कुसंस्कारको दोष जति सबै पहिलो परम्परागत विचार माथी थोपरी यसलाई परिवर्तनका बाधकको रुपमा चित्रण गरी समाजलाई हमेसा आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् ।

नेपालमा जसको नेतृत्व संभवत: देशकै विद्वान मानिएका डा भट्टराईको नयां-शक्ति र रविन्द्र मिश्रको विवेकशिल साझा जस्ता केही राजनैतिक दल, केही राष्ट्रीय भनिएका पत्रिका र यसका सम्पादक, मानवअधिकारका खोल ओढेका कथित केही मानवअधिकार कर्मी भनिएकाहरु, बुद्धिजीवि नागरिक अगुवा भनिनेहरु र केही लेखक नामधारी अवसरवादी ब्यक्तिहरुले नै गरिरहेका छन् । यिनीहरुको काम भनेकै विदेशी संघ संस्थाबाट भित्र भित्रै करोडौं रकम असुलेर देखावटीमा सदाचारी, मानव अधिकारको रक्षक र सामाजिक अभियान्ताका रुपमा विद्धताको सारङ्गी रेट्दै वर्तमान ब्यबस्थाको विरुद्धमा लाग्नु हो । स्मरण रहोस् , देशमा चाहे कम्युनिष्ट, कांग्रेस वा पञ्चायत या अन्य जुनसुकै ब्यबस्था आओस् यिनीहरुको काम भनेको सरकार र ब्यवस्थाकै विरुध्द लाग्नु हो किनभने यसैका लागि उनिहरुले पारिश्रमिक बुझिरहेका हुन्छन् ।

तर हामी सर्वसाधारण किन बुझ्दैनौं र यिनीहरुको स्याल हुईंञ्यामा साथ दिन्छौं ? के समाज परिवर्तन जादुको छडी समान हुन्छ ? के समाज परिवर्तन जादुको चुड्कीको भरमा हुन्छ ? के परिवर्तन भनेको रीति-रिवाज धर्म-संस्कृतिमाथीको अतिक्रमण मात्र हो ? के विद्वान डा बाबुरामले जस्तो देशकै नाम फेर्ने, कहिले झण्डा फेर्ने त कहिले गाईको सट्टा भैंसी राष्ट्रीय जानवर किन नराख्ने जस्ता अनावश्यक, तुच्छ र समाजलाई ध्रुवीकृत बनाउंने जस्ता औपचारिक र अनौपचारिक बहस चलाउंदै हिंड्नुनै परिवर्तन हो ? या नेपालको संविधान २०७२ अनुसार सुचिकृत १० धर्म र १२५ जात जाति र जातिय संस्कारको संरक्षण र संवर्धन गरि विकाश निर्माण तिर लाग्नु परिवर्तन हो ? यि कुराहरुमा बहस हुनु जरुरी छ ।

अन्तमा मेरो निष्कर्ष केपी ओलिबाट डा बाबुराम भट्टराईबाट जस्तो उछृङ्खल समाज परिवर्तनको आशा नराखौं किनभने ओलि कम पढेका तर समाजको मनोविज्ञानका जानकार ब्यक्ति हुन् । फेरी पनि कार्ल माक्सको धर्मको परिभाषा “राष्ट्र र समाजको विकास गरौं धर्म आफैं निष्प्रभावी हुन्छ ।

(नारायण के.सी, चीन मकाउ । लेखक नेपाली प्रवासी मञ्च मकाउका संस्थापक सदस्य हुन् ।)