पोखरा प्रिमियर लिग: पोखरा पल्टनलेले पायाे एकसय ४ रनकाे लक्ष्य




२०७५ कात्तिक १७ शनिवार
Newsdesk Shikharnews

काठमाडाै,१७ कात्तिक।  घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग(पीपीएल)को दोस्रो चरणमा पुग्न हुलास काठमाडौं रोयल्सबाट १ सय ४ रनको लक्ष्य पाएको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी समुहको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय तीन रनमात्रै बनाउन सक्यो।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको पारी खेले। २८ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। बसन्त रेग्मीले १९ रन जोडे। उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर अमित श्रेष्ठले १७ बलमा २१ रनको पारी खेले। उनले ३ चोका र १ छक्का प्रहार गरे।काठमाडौंले एकपछि अर्को गर्दै विकेट गुमाएपछि ठूलो स्कोर बनाउँन नसकेको हो। उसका विदेशी खेलाडीद्धय जयकिशन कोल्सावाला र गौरव तमोर शुन्यमै पवेलियन फर्किएका थिए।
यस्तै पवन सर्राफ १२, नरेश बुढाऐर ६, आदिल खान ७ र अमरसिंह रौटेला एक रनमै आउट भए।

पोखराका ललितनारायण राजवंशीले ३ विकेट लिए। चार ओभरको स्पेलमा उनले १८ रन खर्चेका थिए। यस्तै रासिद खान र मोहम्मद नाविदले २-२ तथा विक्रम भुषालले एक विकेट लिए। खेलमा जित हात पारेमा पोखरा ६ अंकका साथ शीर्ष तीनमा रहनेछ। पराजित भएमा भने उसले अर्को टोलीको नतिजामा भर पर्नुपर्नेछ। यस्तै काठमाडौंले जित हात पारेमा उ आठ अंकका साथ शीर्षमा रहँदै फाइनल प्रवेश गर्नेछ।

प्रतियोगिताको प्रावधानअनुसार समुह चरणको शीर्षमा रहँने टोली फाइनलमा प्रवेश गर्नेछ भने दोस्रो र तेस्रोमा रहने टोलीले इलिमिनेटर खेल्नेछ। इलिमिनेटरको विजेता फाइनलमा पुग्ने अर्को टोली बन्नेछ। समुह चरणको अन्तिम खेलमा शनिबार दिउँसो चितवन राइनोज र विराटनगर टाइटन्स भिड्नेछन्।