तिहार सुरु, आज काग तिहार




२०७५ कात्तिक १९ सोमवार
Newsdesk Shikharnews

हिन्दु धर्मावलम्वीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्र्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वीतीयासम्म मनाइने यमपञ्चक अर्थात तिहारको पहिलो दिन आज काग तिहार हो । यमपञ्चकको पहिलो दिन काग तिहारमा कागलाई मीठामीठा परिकार खुवाउने गरिन्छ । हिन्दु धर्ममा कागलाई यमराजको दुत मानिन्छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको छ ।

कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ ।