विधान विपरित कांग्रेसमा दुई उपसभापति, महासमिति बैठक सर्याे




२०७५ कात्तिक २१ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, २१ कात्तिक। नेपाली कांग्रेसको उपसभापतिमा संसदीय दलका उपनेतासमेत रहेका नेता विजयकुमार गच्छदार मनोनीत भएका छन्। कांग्रेस विधानमा एक मात्र उपसभापति रहने व्यवस्था भए पनि तत्कालीन फोरम लोकतान्त्रिकसँगको पार्टी एकताको पूर्वसहमतिअनुसार उनलाई उपसभापति बनाइएको हो । मंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गच्छदारलाई उपसभापति मनोनीत गर्ने निर्णय गरेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले नेता गच्छदारलाई उपसभापति मनोनीत गर्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा सबै नेताहरू सहमत भए पनि केही नेताहरूले प्रक्रियाका विषयमा भने असहमति राखेका थिए । कांग्रेसको हालको विधानमा पार्टीको पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ । तर, उनी मनोनीत केन्द्रीय सदस्य मात्र हुन् । उनलाई विधानमा भएको बाधा अड्काउमार्फत फुकाएर मनोनीत गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्जुननरसिंह केसीले सभापतिलाई सुझाएका थिए । तर, सभापति देउवाले बाधा अड्काउतर्फ नलागी छोटो बाटोबाटै गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गरेका हुन्।

गच्छदारले पार्टी एकीकरणको समयमा भएको सहमति कार्यान्वयन गर्न सभापति देउवासहित वरिष्ठ नेता र अन्य सबैजसो शीर्ष नेताहरूलाई दबाब दिँदै आएका थिए । उनले सार्वजनिक कार्यक्रमहरूमा समेत आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै दुखेसो पोख्दै आएका थिए ।
बैठकले पार्टी एकताका समयमा भएको पूर्वसहमति कार्यान्वयनका लागि कार्यदलसमेत बनाएको छ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको हो । तर, अन्य सदस्यहरू कोको हुने भन्ने तय भएको छैन । उपसभापति निधिले आफ्नो संयोजकत्वमा बनेको समितिले फोरम लोकतान्त्रिकसँगको पूर्व सहमतिअनुसारको मोडालिटीमा केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, क्षेत्र र नगरस्तरमा नेताहरूको व्यवस्थापनका विषयमा काम गर्ने बताए ।

‘समितिले फोरम लोकतान्त्रिकसँगको पूर्वसहमतिअनुसार केन्द्रीय सदस्य, प्रदेश, जिल्ला, क्षेत्र र नगरस्तरमा नेताहरूको व्यवस्थापनका विषयमा काम गर्छ र के कसरी बाँकी काम सक्ने भन्ने निचोड दिन्छ,’ एक नेताले भने। सो समितिले फोरम लोकतान्त्रिकबाट आएका नेताहरूलाई महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि के कति संख्यामा दिने भन्ने बारेमा समेत राय दिनेछ । कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग एकता गर्दा २० हजार क्रियाशील सदस्यता दिने सहमति गरेको थियो । गच्छदारले ६३ जिल्लामा रहेको आफ्नो संगठनका लागि ५ सय महाधिवेशन प्रतिनिधिसमेत पाउनुपर्ने बताएका थिए । यस्तै, महासमितिमा पनि तीन सयलाई प्रतिनिधित्व गराउनुपर्ने उनको माग थियो ।

यसैबीच कांग्रेस महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुने तय भएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले ५ देखि ९ मंसिरका लागि तोकिएको पूर्वनिर्धारित मितिलाई परिवर्तन गर्दै बैठकको नयाँ मिति तोकेको हो। नेता रमेश लेखकले महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुनेगरी पूर्वनिर्धारित मितिलाई केन्द्रीय समिति बैठकले हेरफेर गरेको जनाए। हाल कांग्रेसभित्र नयाँ विधानका केही विषयमा नेताहरूबीच विवाद रहँदै आएको छ । सोही विवादका कारण महासमितिसमेत सरेको एक नेताले जानकारी दिए । कांग्रेसको विधान संशोधन गर्न गठिन ‘विधान संशोधन मस्यौदा समिति’का संयोजक पूर्णबहादुर खड्काले मंगलबारको केन्द्रीय समिति बैठकमा विधान संशोधन मस्यौदामा सर्वसम्मत हुन नसकेको ब्रिफिङ गरेका थिए।