प्रकाशमान सिंहले भने ‘आफूसँग बहुमत छ भन्दैमा देउवाले जथाभावी गर्दै हिँड्न पाइन्छ?’




२०७५ कात्तिक २२ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं, २२ कात्तिक ।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी विधानको प्रावधान विपरित सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

काठमाडौंको जोरपाटीस्थित नयाँ वस्ती युवा क्लबले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । नेता सिंहले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिए । आफूसँग बहुमत छ भन्दैमा सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ । मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो ।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दवाव दिनु परेको पनि स्पष्ट पारे । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिंहले कामै गर्न नसकेको भन्दै सरकारको पनि चर्को आलोचना गरे ।