देउवालाई ‘काउन्टर’ दिन सुजाताको घरमा पौडेल समूहको लन्च बैठक

२०७५ कात्तिक २६ सोमवार
Abishkhar Khanal

काठमाडौं, २६ कात्तिक। पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरित काम गरेको र त्यसलाई रोक्न भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एकजुट हुने विषयमा छलफल गरेको छ। कांग्रेस नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता पौडेलसहितका नेताहरुलाई सोमबार लन्चकालागि आफ्नो निवास मण्डिखाटारमा बोलाएकी थिइन्। लच्न बैठकमा पौडेल समूहका नेताहरु महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, केन्द्रीय सदस्य गुरुराज घिमिरेसहितका सहभागी थिए।

करिव डेढ घण्टा चलेको बैठकमा सभापतिले पछिल्लो समयमा विधान विपरित काम गरेको, पार्टीलाई एउटा गुटमा परिणत गरेको, एकलौटी ढंगले अगाडि बढेको भन्दै सभापतिका गलत कामका विरुद्ध एक भएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। बैठकमा पूवमहामन्त्री कृष्णप्रसाद सिटौला भने राजधानी बाहिर भएका कारण उपस्थिति थिएनन्। सो बैठकमा सहभागी एक नेताका अनुसार महासमिति बैठक, १४ औं महाधिवेशनलगायतका विषयमा छलफल भएको थियो। बैठकमा १४ औं महाधिवेशनकालागि अहिले देखि नै व्यक्तिपिच्छे उम्मेद्वार तोक्ने काम बन्द गर्ने र महाधिवेशनको तयारीमा लाग्ने सहमति भएको छ।

कांग्रेसको १४ औं महाधिवेशमा पूर्व संस्थापन पक्षभित्र कसलाई सभापतिको उम्मेद्वार बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन। केही समय अगाडि महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच आगामी नेतृत्व कोइराला परिवारबाट लिने सहमति भएको थियो। तीन जनामध्ये एक जनाले समापतिमा उम्मेद्वारी दिने सार्वजनिक नै गरेका कोइराला परिवारका सदस्यले सोमबारको लन्च बैठकपछि भने नेतृत्वका विषयमा अहिले नै कुरा नगर्ने सहमति भएको छ।

पछिल्लो समयमा सभापति देउवाले विधान विपरित काम गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएको छ। केही दिन अगाडि सभापति देउवाले विजयकुमार गच्छदारलाई विधान विपरित उपसभापतिमा मनोनयन गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको छ। कांग्रेस विधानमा पदाधिकारीमा नियुक्त हुन महाधिवेशनबाट केन्द्रीय सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ। तर उक्त प्रावधान विपरित देउवाले गच्छदारलाई उपसभापतिमा मनोनयन गरेका थिए।