आजदेखि माइक्रो चालक र खलासीलाई फ्लोरेन्स ज्याकेट अनिवार्य

२०७५ मंसिर १ शनिवार
Newsdesk Shikharnews

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने माइक्रोबसका चालक र खलाँसीले आजदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।

ज्याकेट लगाएपछि चालक र खलासीलाई यात्रुले सजिलैसँग चिन्नसक्ने भएका छन् । ज्याकेट लगाउँदा टाढैबाट चालक चिन्न सकिने, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले नियम बनाइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग बसेको बैठकले मंसिर १ अर्थात आजदेखि अनिवार्यरुपमा टल्कने खालको ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तला र खलाँसीले हरियो रङको ज्याकेट लगाउनुपर्ने बताए ।

तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुवात गरिए पनि माइक्रोबसका चालक, खलाँसीले अटेर गर्दै आएका थिए ।

ठूला सवारीसाधनमा समेत ज्याकेट लगाउने व्यवस्था गर्ने बताइएको छ । महाशाखाले यसअघि उपत्यकामा चल्ने ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरिसकेको छ ।

(https://www.newportworldresorts.com/)