Shikhar News

News from Nepal

विद्यालय निर्माणका लागि जापानी सहयोग

काठमाडौँँ, १३ पुस,धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।

विद्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउने सम्बन्धमा नेपालस्थित जापानी दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले हस्ताक्षर गर्नुभयो ।

जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको दूतावासले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको शिक्षा, सडकलगायत विकास निर्माणका क्षेत्रमा जापान सरकारको सहयोगको प्रशंसा गर्दै यस्ता कामले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत साइगोले भवन निर्माणपछि गुणस्तरीय शिक्षामा मद्दत पुग्ने उल्लेख गर्नुभयो । चारसय पच्चिस विद्यार्थी अध्ययनरत सो विद्यालयमा एउटै कक्षामा १२० सम्म विद्यार्थी बसेर कष्टका साथ अध्ययन गर्दै आएकाले भवन निर्माणका लागि पहल गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *