अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको हैन, आज पारित हुन्छ : रायमाझी

२०७५ पुस १३ शुक्रवार
Newsdesk shikharnews

पुष १३, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले सरकार र पार्टी ठीक ढंगले चलिरहेको भन्दै स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको बचाउ गरेका छन् । तर केही नेताले अध्यक्षको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठाएपछि बिहीबार प्रतिवेदन पारित गर्ने उनको प्रयास विफल भयो ।

ओलीले प्रतिवेदन मूलतः सही रहेको विष्लेषण गरी पारित गर्न प्रस्ताव राखेका थिए । नेता भीम रावल र घनश्याम भुसालले बैठकमै उठेर प्रतिवाद गरे । अन्य नेताले पनि ओलीको जवाफ चित्त नबुझाएपछि बैठक शुक्रबार बिहानसम्मलाई स्थगन भएको छ ।

नेताहरूले सरकार सञ्चालन, सरकारका निर्णय, पार्टी सचिवालयका नाममा गरिएका एकता प्रक्रियासम्बन्धी निर्णयमाथि प्रश्न उठाएका थिए । दर्जनौं प्रश्न उठे पनि अध्यक्ष ओलीले बैठकमा समग्रमा जवाफ दिएका थिए । अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुधारेको, विकास निर्माणका काममा विस्तारै गति दिन थालेको भन्दै धेरै चिन्ता नगर्न नेताहरूको ध्यानाकर्षण गराएका थिए । निर्मला हत्या प्रकरणबाहेक शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रणमा आएको प्रसंग पनि उनले बैठकमा उठाए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले बैठकमा उठेका प्रश्नको जवाफ दुवै अध्यक्षले दिएको भन्दै अव विधिअनुसार प्रतिवेदन पास हुने दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै रायमाझीले अध्यक्षद्धयको प्रतिवेदन अस्विकृत भएको भन्ने कुरा अस्वीकार गर्दै कुन विधिबाट पास गर्ने भन्ने कुरा मात्रै बाँकी रहेको बताए ।

केही विषयको जवाफ र विषय छुटेको भए पनि त्यसलाई अन्यथा सोच्न नहुने उनले बताए । आज बस्ने बैठकले सबै विषयमा सहमति जुटाउने उनको जिकिर छ ।