रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ

२०७५ पुस २२ आइतवार
Newsdesk Shikharnews

काठमाडौं । चारदिन अघि टीकापुर घटनामा संलग्न भएको आरोपमा डिल्लीबजार थुनामा रहेका रेशम चौधरीले सपथ खाए । संघीय संसद सचिवालयमा प्रहरीको घेरामा पुगेका उनले प्रहरी घेरामै सपथ खाएर थुनामा फर्किए । उनले सांसद पद जितेको एक वर्षपछि सपथ खाए । तर, उनले संसदको कुनैपनि वैठकमा भाग लिन पाउँदैनन् ।

कतिपय विषय देशमा बुझिनसक्नु जस्तो लाग्छ । राजनीतिक नेतृत्वले चाहे जेपनि सम्भव भएको हुन्छ । नगरिनुपर्ने, नहुनुपर्ने काम पनि कानुनलाई ख्यालै नगरी गरिएका हुन्छन् ।

फेरि अर्का ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका प्रदेश सांसदमा जितेका राजिव गुरुङ नाम भएका दीपक मनाङेको बजारमा चर्चा छ । उनले सपथ लिने विषयमा चर्चा छ । उनी अदालतबाट फौजदारी मुद्दामा दोषी ठहर भएर केही समय जेल सजाय भोगेर बाहिर निस्केका हुन् । उनी तीन साता अघि सर्वोच्चको आदेशबाट बाहिरै बसेर मुद्दा लड्न पाउने गरी छुटेका हुन् ।

उनी दोषी ठहर भैसकेका र सर्वोच्चमा उनको मुद्दा विचाराधीन छ । कानुन अनुसार फौजदारी मुद्दामा दोषी ठहरिएर सजाय तोकिएका उनले शपथ लिन पाउने छैनन् । मनाङे उच्च अदालत पाटनबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहरिएर ५ वर्षको जेल सजाय सुनाइएका व्यक्ति हुन् ।

सर्वोच्चमा अहिले दर्ता भएको मुद्दाबाट उनले यदि सफाइ पाएको खण्डमा मात्र शपथ लिन पाउनेछन् । नयाँ फौजदारी संहिताले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने अधिकार दिएकाले मनाङे सर्वोच्चको आदेशमा पुस ६ गते डिल्लीबजार कारागरमुक्त भएका हुन्।

उनले सपथ लिन पाउँ भनी प्रदेश ४ को संसदमा निवेदन समेत दिइसकेका छन् । आज आइतबार सपथ लिने भन्ने चर्चा समेत चलेको छ । उनलाई कानुनै मिचेर सपथ खुवाउन सभामुखले एकपटक गम्भीर भएर सोच्नैपर्ने देखिन्छ ।

सांसदहरुले मनाङेलाई सपथ खुवाउने विषयमा फरकफरक धारणा बनाएको देखिन्छ । आज आइतबार बस्ने प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले मनाङेको शपथबारे निर्णय गर्ने बताइएको छ ।

Loading...