New from Nepal

राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान-2

सभामुख महोदय, 

म यस सम्मानित सदनमा सरकारको नीति कार्यक्रम र बजेट प्रस्तुत गरिरहेको छैन । साथीहरुले भन्नुभयो– खै काम गरेको ? सरकार देखिएन । न्याय भेटिएन । त्यसैले, चौतर्फी आक्रमणबीच मेरो नेतृत्वको सरकारले गरेका थोरै कामको चर्चासम्म गरेको हुँ ।

सन् २०१८ को १० महिनामै गत आर्थिक वर्षको पूरा अवधिकै हाराहारीमा पर्यटक नेपाल भित्रिएका छन् । नेपाली पर्यटन व्यवसायीहरुले गत महिना हवाइमार्ग हुँदै १० लाख पर्यटक नेपाल भित्रिएको उपलक्ष्यमा उत्सव नै मनाएका छन् । हवाइमार्गबाट मात्रै नेपाल भित्रिएका पछिल्लो २ महिनाको पर्यटकहरुको संख्यालाई समेत जोड्दा १२ लाख नाघेको छ । यो संख्या गत सालको यही अवधिको तुलनामा २७ प्रतिशत बढि हो ।

यो सरकार गठन भएपश्चात थप ३० हजार ग्राहक कहाँ विद्युतीय मिटर जडान भएको छ । यस अबधिमा विद्युत चुहावटमा ३ प्रतिशतले कमी आएको छ ।

यस अवधिमा १० हजार ५ सय ६१ घर परिवारमा बायोग्यास प्लान्ट, ८० हजार ९ सय ९० वटा सौर्य विद्युत प्रणाली र ४० हजार ३ सय ६२ वटा सुधारीएको चुलो जडान गरी विद्युत सेवा तथा स्वच्छ उर्जा उपलब्ध गराईएको छ ।

नेपाल र भारतबीच ऊर्जा बैंककिङ् सम्बन्धि निर्दे्शिकामा सहमति भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले आफ्नो ऊर्जा आदानप्रदान निर्दे्शिकामा संशोधन गरेको छ । यसबाट नेपालमा उत्पादन भएको विजुली भारत र भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्न बाटो खुलेको छ ।
नेपाल र बंगलादेश सरकारबीच विद्युत व्यापार सम्झौता सम्पन्न भएको छ । यस आर्थिक वर्ष भित्र निर्माणाधीन विभिन्न परियोजनाहरु सम्पन्न हुने र नयाँ योजनाहरुको शिलान्यास हुँदैछन् । ती मध्ये यही माघ महिना भित्र झण्डै छ दर्जन परियोजनाहरु केहीको उद्घाटन र केहीको शिलान्यास सम्पन्न हुँदैछन् ।

यस क्रममा गत पुस १९ गते उपत्यकाको नदी सफाई गर्ने अभियानको शुरुवात ललितपुरको बालकुमारीमा प्रशोधन केन्द्रको शिल्यान्यासबाट गरियो । २० गते पूर्वको रवी–राँके–भेडेटार सडक खण्डको शिल्यान्यास गरियो ।

पूर्वपश्चिम राजमार्ग चारलेनमा स्तरोन्नति गर्न स्रोत सुनिश्चित भएको छ र केही खण्डमा बोलपत्र आह्वान समेत भइसकेको छ ।

भूकम्पपछि बन्द रहेको कोदारी राजमार्ग आगामी वैशाखबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । रसुवागढी–गल्छी सडकको स्तरोन्नति तीब्र गतिमा भइरहेको छ ।

चालू आर्थिक वर्षमा २५ वटा पुल निर्माण सम्पन्न भएको छ । हाल देशभर १२५३ पुल निर्माणाधीन अवस्थामा छन् । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि मेरो भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइप लाइन निर्माण गर्ने आयोजना तोकिएको समय भन्दा अघि नै सम्पन्न गर्ने गरी तीव्रताका साथ काम भइरहेको छ ।
नेपाल तर्फको २२.८ किलोमिटर पाइपलाइन विछ्याउने कार्य सम्पन्न भइसकेको छ ।

नेपालीको रेल सपनालाई पूरा गर्न वितेका केही बर्षदेखि मैले आफ्नो पहल र प्रयत्नलाई शिथिल हुन दिएको छैन । हाम्रो मुलुकको विकासको लागि रेल–वे र वाटर–वे, गेम चेञ्जर हुने तथ्यलाई अफवाहको तुँवालो भित्र पुरिदिने प्रयासलाई मैले अभिरुचिका साथ नियाली रहेको छु ।

मैले स्मरण गरिरहेको छु, कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याकियो । रेलको चर्चा गर्दा रित्ता बाल्टिन् लाइनमा राखी कुरा काटियो । अहिले पनि सुनेको छु– जहाजको टिकट काटौं भनेको, काउण्टर खै ? हिजो नपत्याउनेहरु समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेमा म खुशी व्यक्त गर्दछु ।

धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ । केरुङ–काठमाडौं रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ र यसको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि सम्झौता हुँदैछ ।

काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर हुँदैछ । भारतीय सहयोगमा रक्सौल–काठमाडौं रेलमार्ग विस्तृत परियोजना तयार गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

कुर्थादेखि जयनगरसम्म निर्माण गरिएको रेल–वे लाइनमा नेपालको आफ्नै रेल संचालन गर्न २ वटा रेल खरिद कार्य अगाडि बढाइएको छ । नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्टार नियुक्त गर्ने प्रक्रिया शुरु गरिएको छ । नेपालमा जलमार्ग संचालनको लागि सम्भाव्यता अध्ययन भइरहेको छ ।

नागढुंगा–नौबिसे सुरुङमार्ग छिटै शिलान्यास हुँदैछ । राजधानी र देशका विभिन्न भागमा अन्य ५ वटा सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको छ ।

सूचना प्रविधिमा पँहुचका लागि १३७१ वटा वडा, १४६० विद्यालय र १०६३ स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा जडान गरी २ वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराईएको छ ।

आगामी २०७६ बैशाख १ गतेसम्म सम्पन्न गरी नेपालको आफ्नै उपग्रह (नानो सेटलाइट) स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यसबाट अनुसन्धानका विद्यार्थीहरुकालागि अध्ययन मासहयोग पुग्ने छ ।

भूकम्पपछिको पुनर्निर्माण तर्फ मेरो नेतृत्वमा सरकार बन्नुअघि ९७ हजार ८ सय १३ मात्र नीजि घर निर्माण भएका थिए । सरकार बनेयता करिव १० महिनामा ३ लाख ३८ हजार १ सय ४७ घर निर्माण भइसकेका छन् ।

यो सरकार बन्नुअघि ४ हजार ५ सय १५ विद्यालय निर्माणाधीन थिए । त्यसयता ६ हजार ६ सय ७८ विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । ३९० वटा पुरातात्विक सम्पदा निर्माण भएकामा त्यसयता ५१० पुरातात्विक सम्पदा निर्माण सम्पन्न भएका छन् ।

भएको कामलाई पनि नभएको देखाउन केही साथीहरु रहर गर्नुहुन्छ । ती मध्ये एउटा खोंचे थपाई हो– खै तुइन विस्थापन भएको? मैले अघिल्लो कार्यकालमा ‘तुइनलाई झोलुङ्गे पुलबाट विस्थापन गर्ने’ घोषणा गरेको थिएँ । यस अन्तर्गत पहिचान भएका १८७ तुइनमध्ये हालसम्म ११३ वटा तुइन विस्थापन भइ झोलुङ्गे पुल सञ्चालनमा आएका छन् । १७ तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माणको कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुनेछन् ।

परराष्ट्र मामिलामा चीनसँग सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सन्धीलाई कार्यान्वयन गर्ने प्रोटोकल सम्झौतामा ऐतिहासिक सहमति भएको छ ।
यसबाट चीनका ४ वटा सामुन्द्रिक बन्दरगाह, २ वटा सुख्खा बन्दरगाह र चीनको भूमि भएर तेस्रो मुलुकसँग व्यापार गर्न पारवहन मार्ग उपलब्ध हुने भएको छ । परिणामस्वरूप नेपाललाई अतिरिक्त पारवहन सुविधा सुनिश्चित भएको छ ।

भारत र चीनमा भएको मेरो औपचारिक भ्रमण र त्यसको उपलव्धी बारे मैले यस सम्मानित सदनलाई जानकारी गराई सकेको छु । यसबीच मैले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गरेको छु । न्युयोर्कमा साइडलाइन मिटिङ्गको रुपमा स्विट्जरल्याण्ड राष्ट्रपति, क्यानडा, वेलायत र कम्वोडियाका प्रधानमन्त्रीसंग भेटवार्ता भएको छ । कोष्टारिकाको औपचारिक भ्रमण गरेको छु । र, संयुक्त राष्ट्रसंघको युनिभर्सिटी फर पीसले मलाई मानार्थ विद्यावारिधीबाट सम्मान गरेको छ । यो हामीले शान्ति स्थापनामा खेलेको भूमिकाको मान्यता हो । यो सम्मान, मेरो व्यक्तिगत सम्मान नभई म मार्फत नेपाली जनताले शान्ति स्थापना र्पुयाएको योगदान र सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको समेत सम्मान हो ।

यसबीच कम्बोडियाका प्रधानमन्त्री र म्यानमारका स्टेट काउन्सीलरबाट नेपालको औपचारिक भ्रमण भएको छ । दुवै देशसंग नेपालको सिधा हवाई सेवा सञ्चालन गर्ने महत्वपूर्ण सहमती भएको छ ।

यही माघ महिनाको पहिलो साता म डावोसमा हुने विश्व आर्थिक मञ्चमा सहभागी हुँदैछु । पहिलो पटक नेपालका प्रधानमन्त्रीलाई यस मञ्चमा औपचारिक आमन्त्रण गरिनुलाई मैले हाम्रो लोकतन्त्र, स्थायित्व र विकासतर्फको यात्रामा अन्तराष्ट्रिय मान्यताको रुपमा लिएको छु ।

हाम्रा परराष्ट्रमन्त्रीबाट जापान, केही युरोपेली मुलुकहरु र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण तथा आप्mना समकक्षीसंग द्विपक्षीय वार्ता भएको छ । यी औपचारिक भ्रमण र द्विपक्षीय वार्ताले नेपालको कुटनीति, छिमेक सम्बन्ध र परराष्ट्र नीतिलाई थप मजवुत बनाएको छ ।

सम्माननीय राष्ट्रपति ज्यूबाट भएको कत्तारको औपचारिक भ्रमण सकारात्मक र उपलव्धिमुलक भएको छ । पोल्याण्डमा भएको सयुंक्त राष्ट्रसंघीय जलवायू परिवर्तन विश्व सम्मेलनमा सहभागि भई हाम्रो दृष्टिकोण राखिएको छ ।
– शिक्षामा, मुलुकमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्न राष्ट्रिय जनशक्ति प्रक्षेपण कार्यदलले काम गरीरहेको छ । उच्चस्तरीय शिक्षा आयोगले आप्mनो कामलाई अन्तिम चरणमा पु¥याएको छ । यद्यपि यस सन्दर्भमा चिकित्सा शिक्षामा नीजि क्षेत्रको सहभागिता हुनै नहुने र विद्यालय शिक्षामा नीजि क्षेत्र नभै नहुने जस्ता अनौठा विरोधाभाष प्रकट भइरहेको छ ।

अस्थायी शिक्षकको परीक्षा सञ्चालन गरी अन्तरवार्ता, २११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरुवात, संघीय शिक्षा ऐन, मदन भण्डारी विश्वविद्यालय र विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयको विधेयक तर्जुमा गरिएको छ ।

यस सम्मानित सदनमा यस अघि नै विद्यार्थी धर्ना अभियान र त्यसमा प्राप्त सफलताको बारेमा मैले चर्चा गरेको छु । आगामी बर्ष मुलुकलाई पूर्णतः साक्षर मुलुकमा रुपान्तरण गर्नेगरी साक्षरता अभियान सञ्चालन गर्ने जानकारी गराउँदछु ।

आम जनताहरुले प्रयोग गर्ने जग्गा प्रशासनसंग सम्बन्धित लिखतहरुलाई सरलीकरण गर्ने सिलसिलामा १३१ मध्ये ४७ वटा मालपोत कार्यालयमा अनलाइन सेवा सहित सरलीकृत फारमहरु प्रयोगमा ल्याइएको छ ।

देशभरिका ७५३ स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने वनहरुको नक्शांकन समबन्धी कार्य सम्पन्न गरिएको छ । चितवन जिल्लाको इच्छाकामना गाँउपालिकामा अत्याधुनिक एट्मोस्फेरिक अव्जरभेटोरी स्टेशनस्थापना गरिएको छ ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको छ, भ्रममा रहनु उपयुक्त छैन । सिन्डिकेट अन्त्य पछिको व्यवस्थापन कार्यले पूर्णता पाएको छैन, यसका लागि सार्वजनिक यातायात प्राधिकरण गठन गरी नयाँ व्यवस्था लागू गर्नेगरी कामहरुलाई अघि बढाइएको छ ।

सुशासन र शान्ति सुरक्षाको सन्दर्भमा अनेक टिप्पणी सुनेको छु । यो सरकार संसदले बनाएको हो र यसैको मातहत छ । सुशासन बहाली गर्न र भ्रष्टाचार अन्त्यको लागि कुनै कसर बाँकी राखिने छैन । म भ्रष्टाचार गर्दिन र अरु कसैलाई पनि त्यो छुट दिन्न । कुन कुन विषयमा कस्ता कस्ता न्यायिक आयोग बनाउनु पर्ने हो, ती सबै गर्न सरकार तयार छ ।

अपराध नियन्त्रणको सन्दर्भमा हाम्रो प्रहरी प्रशासनले ९६ प्रतिशत सफलता हासिल गरेको छ । केही घटना अपवादको रुपमा रहेका छन् । त्यसलाई टुङ्गोमा पु¥याउन सरकार सक्रिय छ । अपवादलाई आमको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास देख्दा मलाई दुःख लागेको छ।

अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरी चेलीहरुलाई न्याय सडकमा पोखिने अमर्या्दित एवं अराजक भीडले दिने हैन सरकारले दिन्छ । त्यसको नेतृत्व मैले गरिरहेको छु, ढुक्क रहे हुन्छ ।

सुरक्षा सतर्कताको क्रममा, मुलुकको बिभिन्न स्थानमा २०८९ वटा सिसिटिभी क्यामरा जडान गरी अपराधजन्य क्रियाकलापको निगरानी बढाइएको छ ।

विगत लामो समयदेखि नेपालमा भैरहेको सुनको तस्करी, त्यसमा जोडिएको आपराधिक मनोबृत्ति र संगठित अपराधको संजाल ध्वस्त पार्ने कार्यमा राम्रो सफलता मिलेको छ । विशेष अनुसन्धानको माध्यमबाट सुन तस्करीमा मुछिएका ७५ जना अभियुक्त मध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरुको चल अचल सम्पत्ति रोक्का गरिएको छ ।

चर्चित ३३ किलो सुनकाण्डका केही आरोपित व्यक्तिहरु सहित भारतीय राजश्व अनुसन्धान व्युरोको सहयोगमा हालै कोलकतामा ३३ किलो सुन समातिएको छ । त्यसमाथि थप अनुसन्धान भइरहेको छ ।

यस अबधिमा ४२ के.जी. ८४१ ग्राम अवैध सुन, १५२ थान अवैध हतियार, २८३ राउण्ड गोली र १५० जना संलग्न व्यक्ति पक्राउ गरिएको छ । लामो समयदेखि फरार ७३२ जना अभियुक्तहरुलाई पक्राउ गरिएको छ ।

सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षतिमा मृतक परिवारलाई आवास र खद्यान्न, विशेष परिस्थितिको राहत र उपचार खर्च लगायत आर्थिक सहयोग वितरणका लागि ५ करोड ८० लाख २३ हजार ५ सय ४४ रुपैयाँ निकासा गरिएको छ ।

तराईका २२ जिल्लामा शीतलहर घटाउन पूर्वतयारी स्वरुप २ करोड ७५ लाख निकासा गरिएको छ । हिमाली क्षेत्रका २० जिल्लामा हिमपात हुँदा हुने चिसोको प्रकोपबाट अति विपन्न परिवारलाई बचाउन ५र५ लाख रुपैयाँ निकाशा दिईएको छ । शीतलहर र आगलागिका घटनामा परेका विभिन्न जिल्लाका पीडित परिवारलाई करिव ६ हजार थान राहत सामग्री उपलब्ध गराइएको छ ।

अध्यागमन विभागबाट प्रदान गरिने पर्यटक र गैर पर्यटक भिसा वितरण सेवालाई विद्युतीय टोकन प्रणालीबाट प्रदान गर्ने व्यवस्था मिलाइएको छ । २०१९ जनवरी १ बाट लागू हुने गरी नेपाल सरकार र संयुक्त राज्य अमेरिका बीच भिषा पारस्पारिकता कायम भएको छ ।

आन्तरिक राजश्व अनुसन्धान विभाग, राजस्व चुहावटमा संलग्न व्यवसायी, कर्मचारी वा अन्य जो सुकै व्यक्तिका विरुद्ध कडाईका साथ प्रस्तुत भएको छ । भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिबृद्धि कर तथा आयकरमा हुनसक्ने राजस्व चुहावटका उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गरी निगरानी, छानविन र अनुसन्धान कार्य अगाडी बढाएको छ ।

विभागले विगत ६ महिनमा ४२ वटा फर्महरुलाइ राजस्व चुहावटको कसुरमा कार्वाही गरेको छ । अनुसन्धान पछि ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १ सय ३६ रुपैया ४० पैसा विगो र हदै सम्म (३ वर्षसम्म) को कैद सजाय माग दावी गरि मुद्दा दायर गरिएको छ ।

राजस्व चुहावटको कसूरमा संलग्न ७९ जना विभिन्न व्यक्तिहरु र एकजना प्रमुख भन्सार अधिकृत सहित ८ जना कर्मचारीहरु बिरुद्ध समेत अदालतमा मुद्दा दायर गरिएको छ ।

म फेरी एकपटक उल्लेख गर्न चाहन्छु, शान्ति प्रकृया मूलतः टुँगिएको छ । द्वन्द्वका घाउ–खतलाई मलहम पट्टी लगाई अन्तिम रुप दिने काममा सरकार सजगताका साथ सक्रिय छ ।

अहिले हामी लोकतन्त्रलाई सुदृढ गर्ने र लामो संघर्षपछिको उपलव्धीहरुलाई संस्थागत गर्ने क्रममा छौं । कुनै समय विपक्ष दलका नेता सत्तापक्षमा रहँदा राष्ट्रपतिको सन्दर्भमा भन्नु भएको म अहिले पनि स्मरण गरिरहेको छु– “राष्ट्रपतिले गल्ती गर्दैन । राष्ट्रपतिले गरेको काम मैले गरेको हो ।”

संबैधानिक व्यवस्थामा राष्ट्रपति आफैं बोल्दैन । केही गर्दैन र कुनै प्रतिवाद गर्दैन । जुन संस्था आफैं बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के हो? गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गण्तन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझी रहेका छैनौं ?
विवादमा ल्याईएको शितल निवास सम्बन्धि हरेक निर्णय सरकारले गर्छ, राष्ट्रपति संस्थाले हैन । यस संस्थाको गरिमाकालागि राज्यबाट गरिने व्यवस्थामा अनावस्यक ढोंग वा दरिद्रता प्रदर्शित गरिरहनु पनि आवस्यक छैन ।

प्रहरी तालिम केन्द्र सम्बन्धि निर्णय पनि आजको हैन, धेरै अघिको हो । त्यतिखेर स्थान अभावको दावी सहित “मध्य–शहरमा रहेको तालिम केन्द्र स्थानान्तरण गर्नुपर्ने” निर्णय गर्नेहरुबाटै अहिले अन्यथा टिप्पणी सुन्दा टिठ लाग्छ ।

संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धराशायी हुन्छ । सम्माननीय राष्ट्रपतिका विरुद्ध विष–वमन हुँदा कसैकसैले त्यसैमा स्वाद मान्यौं । आज त्यो ‘तिर’, संघीय संसद, प्रदेश र स्थानीय तहतर्फ सोझिएको छ । कुनैसमय रक्तअल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्षित गर्दै सुत्केरीको औषधी खायो, पुरुष सांसद सुत्केरी भयो भन्ने अनाहकमा अफवाह फैलाईयो । त्यस्ता हरकतबाट संसद कति बद्नाम भयो र अतिवादलाई कसरी मलजल र्गयो ? त्यस्ता हरकत, असोज १८ र माघ १९ को तयारी थियो भन्नेमा हामी सबै स्पष्ट नै छौं । अहिले, सबै सांसदहरुलाई ठग, लुच्चा, तेलचोरको रुपमा चित्रित गर्दै, चालक तथा नीजि सहयोगीको भत्ता समेत हसुर्ने जस्तो गरी प्रचार प्रसार भई रहेको छ । जानेर होस् वा नजानेर, यसरी भएको सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै हैन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौं ।

हाम्रो संसद् सचिवालयले होस नर्पुयाई कुनै त्रुटी भएको भए सजग होउँ, सच्याउँ । जानी नजानी हामी मध्ये कोही कसैबाट कमी भएको छ भने सच्चिउँ । एउटाले विराउँदा सिङ्गो संस्था बदनाम हुनेमा सचेत होऔं । ‘घुँडा चुसेर’ अघाइन्न भन्ने लोकोक्ति स्मरण गरौं। व्यक्ति त आउँछन् जान्छन्, संस्थाको साख र मर्यादामाथि आँच आए हाम्रो लोकतन्त्र अप्ठ्यारोमा पर्छ । आँच आउन नदिउँ, पुरानो घटनाको पुनरावृत्ति हुनबाट जोगिऊँ, जोगाऊँ ।

निःसन्देह हामी समृद्धिको अभियानमा छौं । समृद्धिकोलागि अघि सारिएको यो राष्ट्रिय यात्रामा, सबैलाई सक्रिय सहभागी हुन म आव्हान गर्दछु । हाम्रो प्रतिपक्ष कसरी सहभागि हुन चाहन्छ, सरकार सोही अनुरुपको सहकार्य गर्न तयार छ ।
म भन्न चाहन्छु– ‘योर च्वाइस इज फस्र्ट !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *