नेपालमा मैले सोचेको कम्युनिष्ट र मैले पाएको कम्युनिष्ट

२०७५ पुस २६ बिहीवार
Newsdesk Shikharnews

गणेश शाक्य
म कुनै राजनीतिक नेता, कार्यकर्ता, विश्लेषक अनि राजनीतिक शास्त्र पढे लेखेका मान्छे हैन । हुँ त केवल नेपालको एउटा सामान्य आम नागरिक । तर पनि नेपालको राजनीति वारे सामान्य चासो राख्न मन लाग्छ । आफ्नो मनमा लागेको कुरा पोख्न मन लाग्छ । बस त्यति मात्र हो ।

किन हो किन मलाई पनि देशको सर्वाङगिण विकासको लागि कम्युनिष्ट विचारधारा उपयुक्त नै लाग्छ । नेपालमा जव जव कम्युनिष्ट आन्दोलनहरु हुने गर्थे, म उत्तेजित हुन्थे । कारण, नेपालमा पनि हुनेखानेहरुको संख्या र नहुनेहरुको संख्यामा ठुलै अन्तर स्थापना भइसकेका छन । सवभन्दा पछिल्लो नेपालका माओवाद कम्युनिष्ट आन्दोलनले त ठूलै आशा जगाएका थिए । नभन्दै दुई तिहाई मत सहितको कम्युनिष्ट सरकार नै स्थापित भयो । दुई तहाई मतको कम्युनिष्ट सरकारले अब भने नेपालमा ठुलै परिवर्तन गर्ने भो, धनी गरिवको दुरी अन्त हुने भो, प्राकृतिक श्रोत साधनहरुको उचित वितरण हुने भो भन्ने आश जागेका थियो । साम्राज्यवाद शासनको फाइदालिई गरिव जनतालाई शोषण गरि हडपिएका सामन्तवादहरुको जग्गाजमिन राष्ट्रियकरण गरि भूमीको उचित वितरण हुने भो ।

कम्युनिष्ट सरकार आएपछि यस्ता यावत कुराहरुको समाधान हुनेछ भन्ने लागेको थियो । तर त्यसो भएन । बरु, नेपालको कम्युनिष्ट भनेको कस्तो खालको कम्युनिष्ट हो, बुझ्नै पनि सकेन । मैले सुनेको, पढेको कम्युनिष्ट दर्शनभन्दा बेग्लै अनि पृथक कम्युनिष्ट ।

संसार भरि विभिन्न थरिका कम्युनिष्टहरु हुन सक्लान । ती मध्ये मैले जाने बुझेका कम्युनिष्ट संगठन अथवा दलहरु भनेका माक्र्सवाद, लेनिनवाद, माक्र्सवाद–लेनिनवाद र माओवादनै हुन ।

माक्र्सवाद भन्नाले १९ औं शताब्दीतिर जर्मनी नागरिक कार्लमाक्र्स र फ्रेडरिक एन्जेल्सले प्रतिपादन गरेको राजनीतिक तथा आर्थिक दर्शनलाई बुझ्ने गरेको छुं । माक्र्सवाद दर्शनमा वर्गीय संघर्षले प्रमुख भूमिका निर्वाह गरेका हुन्छ, त्यो संघर्ष समाज भित्रका केहि कथित वुर्जवावर्गहरुले कथित विकासका नाममा श्रोत र साधनहरुलाई आफ्नो कब्जामा लिइरहेको अवस्थामा त्यसको समानुपातिक वितरणको लागि संघर्ष हुन्छ र अन्ततः पुंजिवादलाई समाजवादामा रुपान्तर गर्न र वर्गरहित समाज सिर्जना गर्नको लागि हुन्छ । लेनिनवाद भन्नाले भ्लादिमिर लेनिनले प्रतिवादन गरेको कम्युनिज्म हो । वहां रसियन माक्र्सवाद हुनुहुन्थ्यो । वहांको राजनीतिक विचारधारा पनि माक्र्सवादकै पृष्ठभूमीमै आधारित थिए । माक्र्सवादमा लेनिनले आफ्नो राजनीतिक विचार मिश्रण गरि प्रतिवादन गरेको वादनै माक्र्सवाद–लेनिनवाद हो ।

अव कुरा गरौं, माओवादको । माओवादको संघर्षको मूख्य आधार भनेकै गरिव किसान र कृषिमा पेशामा आधारित वर्ग हो । माक्र्सवादमा आर्थिक सम्पन्न राज्यको कल्पना गरिएको छ र सो प्राप्तीको लागि औद्योगिक क्रान्तिलाई पनि आत्मसाथ गरिएको छ । तर, माओवादमा भने त्यतिवेला औद्योगिकरणलाई त्यति प्राथमिकता दिएको थिएन । यतिनै हो माओवाद र माक्र्सवादमा फरक । तर दुवै वादले मजदुर वर्गलाईनै आधार वनाई सामाजमा परिवर्तन ल्याउन क्रान्ति गरेका थिए । कम्युनिष्टको विचार धरै फराकिलो छ, त्यसैले संक्षेपमा मैले बुझेका कम्युनिष्टवारे मेरो सामान्य बुझाई यतिनै हो ।

देशले अव समृद्धिको वाटो लियो भन्ने सबैमा आस्वस्त नभएसम्म राजनीतिक नेता, कार्यकर्ता, आम जनता सबैले एउटै प्रकारका खाना खाने, एउटै प्रकारका लुगा लाउने र सबैले देश विकासको लागि अहोरात्र खट्नु पर्ने हैन र ? तर त्यस्तो कम्युनिष्ट विचारधारा त कतै देखिएन हाम्रा कमरेडहरुमा । मैले जानेको बुझेको कम्युनिष्ट र नेपालको कम्युनिष्ट आकास जमिन जतिकै फरक पाएं । मैले फेल खाएं ।
वर्गीय संघर्षको आवाज कता हराए? दुई तिहाई कृषि पेशाको भरमा बाँचेका गरिव किसानको सपना कता बिलाए? कम्युनिष्ट आन्दोलनमा आफ्नो ज्यान आहुती दिएका शहिदहरुको बलिदानको सपना कता हराए? यस्ता विषयवस्तुहरु त कता कता, जसरि भए पनि पद र सरकारमा बसुञ्जेल कमाउन जति कमाउं भन्ने नीति पो संस्थागत भए ।

कतिपय गरिवलाई ओट लाग्ने एउटा गतिलो छाप्रो छैन तर आफु भने नोकर चाकर आदिले भरिपूर्ण सुसज्जित आलिशान बङ्गला, कम्पाउण्डमा राज गर्ने । महंगो महंगो गाडिमा चढ्ने, ठेक्कापत्तामा हात हाल्ने, आफ्ना नातेदारहरुलाई विभिन्न पदमा वहाली गर्ने, भ्रष्टाचारीलाई संरक्षण दिने, कमिशनलाई प्राथमिकता दिने, चाहिदो नचाहिदो बिदेश भ्रमणमा होडवाजी गर्ने, विकासको नाममा काठमाण्डौं केन्द्रित सडक विस्तार गर्ने, सडक विस्तारको नाममा प्राचिन सभ्यताले भरिपूर्ण सम्पदाको विनाश र अतिक्रमण गर्ने, साधारण बसोबासको लागि मात्र पुग्ने सानो रैथाने घरहरुमा डोजर चलाई उठिवास गर्ने, के यहि हो नेपालको कम्युनिष्ट विचारधारा ?

कुन कम्युनिष्ट सरकार भएको देशमा यस्तो कम्युनिष्ट विचार अवलम्वन भएको पाइन्छ? के यस प्रकारको कम्युनिष्टले माक्र्सवाद, माक्र्सवाद लेनिनवाद, मओवादजस्ता पवित्र कम्युनिष्ट विचारधाराको उपहास त गरिराख्या छैन ? अबका दिनहरुमा पनि नेपालमा यस्तै खाले कम्युनिष्टको विस्तार हुंदै जाने हो कि साच्चैको कम्युनिष्ट विचारको उदय हुने हो त्यो त समयलेनै वताउने छ ।

Loading...