काठमाडौको मौलिक संस्कृति दाफा भजन संकटमा

२०७५ पुस २८ शनिवार
Newsdesk Shikharnews

लिच्छवीकालदेखि नै अस्तित्वमा रहेको दाफा भजन नेवार संस्कृतिको विशिष्ट पहिचान मानिन्छ । तर पछिल्लो समय धेरै जसो स्थानहरुमा दाफा भजन गाउने चलन हराउँदै गएको छ । केही दशक अघिसम्म, दाफा भजन काठमाडौँका पुरान वस्तीहहरुमा नियमित जस्तो गाइने गरिन्थ्यो । तर पछिल्लो समय दाफा भजन लोप हुने अवस्थामा पुगेको छ ।

नेवार समुदायको बाक्लो बसोबास रहेका स्थानहरुमा हरेक दिन गाइने दाफा भजनको दृश्य अचेल दुर्लभ जस्तै बनिसकेको छ । नेवारी संस्कृतिको मात्रै नभएर नेपाली संगीतकै एक महत्वपुर्ण र मौलिक विधा हराउन सक्ने सम्भावना देखिएको लोकशास्त्रीय संगीतकर्मी रामकुष्ण दुवाल बताउँछन् ।

नेपाल संगीत तथा नाट्य संगीतमा हुँदा दाफा भजन संरक्षणका लागि केही प्रयास गरेको संगीतकर्मी दुवालले बताए । प्रतिष्ठानमार्फत दाफा भजन संगीतको बारेमा प्रयोगात्मक विचार गोष्ठीका साथै केही स्थानमा दाफा भजन खलहरुलाई बोलाएर दाफा गायन प्रस्तुत गर्न लगाएको समेत उनले स्मरण गरे ।

के हो दाफा भजन वा संगीत ?

समय, परिस्थिति, र मौसम अनुसार गाइने दाफा भजनमा मानवीय व्यवहार, संस्कार र देशमा भएका गतिविधिहरुलाई प्रस्तुत गर्ने गरिन्छ । दाफाका गीत, संगीत र बोलहरु परम्परागत शास्त्रीय रागहरुमा आधारित छन् । ग्वारा, लोक भजन, राग लगायतका संगीतका विभिन्न विधालाई नेवारी संगीतमा दाफा भन्ने गरिएको छ । दाफा गीत खास गरि ३५ वटा रागमा आधारित भएर गाउने गरिएको छ । दाफा गाउँदा खिं, बबुचा, ताः लगायतका बाजा बजाउने गरिन्छ । परम्परा र ऋतु अनुसार बाँसुरी, पोङ्गा, डमरु लगायतका बाजा पनि बजाउने चलन रहेको छ । नेपाल भाषाको संगीत गायनको लिखित प्रमाणिक अभिलेख अनुसार नेपाल सम्वत छ सय नब्बेदेखि नै दाफा गायनको चलन सुरु भएको मानिन्छ ।

 

Loading...