कर्मचारीलाई काठमाडौं नै प्यारो, समायोजनमा ७७ हजार इच्छुक

२०७५ माघ ३ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं । सरकारले आह्वान गरेको कर्मचारी समायोजन प्रक्रियामा आवेदन भरेका कर्मचारीले काठमाडौं र प्रदेश राजधानीलाई प्यारो मानेका छन् । कर्मचारी समायोजनको पहिलो चरण सकिएको छ । समायोजनमा जान कुल ७७ हजार ३ सय २ जना कर्मचारी समायोजनमा इच्छुक देखिएका छन् ।

समायोजनको फाराम भरेका ७७ हजार कर्मचारीमध्ये अधिकांशको पहिलो रोजाइ काठमाडौं परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अनुसार ४४ हजार ९ सय २० कर्मचारीले संघमा बस्न पाउनुपर्नेगरी समायोजन रोजेका छन् ।

सरकारले समायोजन प्रक्रियामा सहभागी हुन आह्वान गरेको समयसमेत सकिएको छ । आवेदन फाराम नभर्ने विरोध गर्दै आएका कर्मचारीलेसमेत अन्तिम दिन समायोजन रोजेका छन् । आवेदन दिएका सचिव र सहसचिवको समायोजन मन्त्रिपरिषदबाट गरिनेछ भने अन्य कर्मचारीको मन्त्रालय आफैले समायोजन गर्ने भएको छ ।

मन्त्रालयले समायोजनका लागि आवेदन फारम नभरेका कर्मचारीका लागि निजामती किताबखानाको विवरणलाई आधार मानेर समायोजन गराउने तयारी समेत अघि बढाएको बताएको छ ।

सरकारले तयार पारेको कर्मचारी दरवन्दी विवरण अनुसार अझै १ लाख ३७ हजार ३ सय ७१ कर्मचारी आवश्यक देखिएको छ । नयाँ कर्मचारीका लागि छोटो प्रक्रिया अपनाएर लोकसेवासँग समन्वय गरी पदपूर्ति गर्ने बताइएको छ ।