काठमाडौं, ४ माघ । प्रदेश नम्बर दुईको राजधानीको औचित्य तथा प्रदेशको नामबारे सुझाव संकलन कार्य युवाहरूद्वारा बिथोलिएको छ ।
जनकपुरधाममा शुक्रबार बिहानको समयमा थालिएको सो काय्र्रकम जनकपुरका स्थानीय युवाहरूले बिथोलिदिएका हुन् ।
उक्त कार्यक्रम शुरुवात हुनुपूर्व नै स्थानीय एक दर्जन जति युवाहरू पुगी सो कार्यक्रम नौटंकी मात्र भएको भन्दै विरोध गरेका थिए ।
गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नीति आयोगका उपाध्यक्षसमेत रहेका डा. हरिवंश झा संयोजक रहनेगरी ३ सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा मोहनलाल चौधरी र रामप्रवेश बैठा सदस्य रहेका छन् ।
स्थानीय सुशील कर्णले भने, ‘जनतासँग प्रत्यक्ष संवाद नगरी बन्द कोठामा सुझाव संकलन गर्ने कुराको विरोध गरेका हौं ।’ विरोध गर्ने मध्येका सरोज मिश्र भन्छन, ‘संविधानको मस्यौदा पनि यसै शैलीमा गरिएको थियो । त्यसै शैलीलाई दोहोराइएको हो ।’
विरोध गर्नेहरुमा किशन मण्डल, रोशन साह लगायतका युवाहरु रहेका थिए । मधेस आन्दोलन गर्नेलाई कार्यक्रमबाट बञ्चित राखिनुको कारण समेत सोध्दै युवाहरूले विरोध गरेका थिए । सो कार्यक्रममा एमाले, नेपाली कांग्रेस र मधेसवादी नेताहरु समेतको उपस्थित रहेको थियो ।
Leave a Reply