झण्डै १ करोडको काठ ट्रेक्टरमा लोड गर्दागर्दै यसरी भयो बरामद

२०७५ माघ ८ मंगलवार
NewsDesk Shikharnews

जनकपुरधाम, ८ माघ । प्रदेश नम्बर दुईको धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदहीमा मंगलबार काँचो रुख काटेर काठ ट्रेक्टरमा लोड गरिरहेकै अवस्थामा बरामद गरिएको छ ।

वाताबरण तथा सार्वजनिक सम्पत्ति संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले नगर प्रमुखको नेतृत्वमा निस्केको सुरक्षाकर्मी समेतको टोलीले मंगलबार वैदेही रेल्वे स्टेशन नजिक रहेको बिमला नदी छेउँको सार्वजनिक रुख काटेर ज १ त ५०७६ नम्बरको ट्रेक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

गैरकानुनी रूपमा अनुमति बेगर काँचो रुख काट्न प्रतिबन्ध लागे पनि नदी छेउँको रुख स्थानीय सगिरा खातुनले काट्न लगाएको ट्रेक्टरचालक धर्मेन्द्र यादवले बताएका छन् । विदेह नगरपालिकाका मेयर बेचन दास, वडाध्यक्ष जुमराती नदाफ, सशस्त्र प्रहरीबल धनौजीका प्रहरी निरीक्षक सागर राई, प्रहरी चौकी वैदेहीका असई विशम्बर साह लगायतको टोलीले काठ बरामद गरेको हो ।

बरामद गरिएको काठ नगरपालिकाको कार्यालयमा पठाउने थालिएको मेयर दासले बताए । बिमला खोलाको छेउँमा करिब ९ किलोमिटरमा सार्वजनिक जामुनको रुख, बाँस, निमको रुख लगायतका काठ काटिएका छन् । जसको अन्दाजी मूल्य करिब १ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

(https://blogs.20minutos.es/)