Shikhar News

News from Nepal

सुदूरपश्‍चिम प्रदेश : स्थानीय तह ८८, उजुरी २४०

काठमाडौं १३ माघ ।सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह छन्। ती तहका अनियमिताको चाङ भने डर लाग्दो छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयमा २ सय ४० अनियमिताका उजुरी परिसकेको छ। ती पनि आव २०७५/०७६ को पुस मसान्त सम्मको मात्रै हो। तहको निर्वाचन भएको डेढ वर्ष मात्रै भएको छ।

कैलाली तथा कञ्चनपुरका स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार भएको उजुरी परेको छ। अख्तियार कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले सबैभन्दा बढी कैलाली र सबैभन्दा कम बाजुराका स्थानीय तहका उजुरी परेको जानकारी दिए। कैलाली २८, कञ्चनपुर १९, डडेल्धुरा ७, दार्चुला १५, बैतडी १०, डोटी ७, अछाम १३, बझाङ १२ र बाजुराका २ उजुरी दर्ता भएका छन्।

‘उजुरीको क्रम बढ्दो छ’, उनले भने, ‘उजुरीमाथि आयोगले गहन अनुसन्धान थालेको छ।’ कहीँ प्रक्रिया नपुर्‍याइएको तथा कहीँ बदमासी भएका उजुरी छन्। केही उजुरी थप अध्ययनका लागि केन्द्रमा पठाइएको छ।

आर्थिक अनियमितता, अनाधिकृत कर्मचारी भर्ना, उपभोक्ता समितिमा आफ्ना मान्छे राखेर भ्रष्टाचार, विकास निर्माणमा मापदण्ड विपरित काम, कामै नभइ भुक्तानी दिएकोलगायतका जस्ता उजुरी परेका छन्। ‘तहका भ्रष्टाचारविरुद्धका उजुरीमाथि अख्तियारले छानबिन सुरु गरेको छ’, शाखा अधिकृत जोशीले भने। उनका अनुसार धेरै तहले आफूखुसी खरिदार, नासु सरहका कर्मचारी राखेर अनियमितता गरेका छन्। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता हुने गरेको अख्तियारको ठम्याइ छ। कुल उजुरीमध्ये ९० प्रतिशत तह जनप्रतिनिधिले लिने कमिसन, घुसखोरी र अनियमितताका छन्। अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *