देशसँग सम्पर्क बिच्छेद भएको एउटा नेपाली भूभाग

२०७५ माघ १४ सोमवार
Newsdesk Shikharnews

(भाग–२)
–सुभक महतो
लाप्चीबाट फर्केपछि (दोलखा) । सञ्चारका कुनै पनि सामाग्री या प्रविधीसँग तपाईंको सम्वन्ध विच्छेद भयो भने दैनिकी कस्तो होला ? कल्पना गर्नुस्, तपाईंसँग रेडियो, टेलिभिजन, पत्रपत्रिका र इन्टरनेट मात्रै होइन, मोवाइल फोन समेत छैन भने तपाईको जीवन कस्तो होला ? तपाईंमध्ये धेरैलाई लाग्न सक्छ यो काल्पनिक कुराको पछि किन लाग्नु । तर यो कथा वास्तवकै सञ्चारका कुनै पनि विकल्प उपभोग गर्न नपाएका वस्तीका मानिसहरुको हो । भूमि नेपालकै हो । नागरिकता नेपाली नै छ । तर त्यसवाहेक अरु केही पनि छैन । अनि कसरी चलेको होला उनीहरुको जीवन ? केही साता अघि उत्तरी सीमाको वास्तविकता बुझ्न दोलखाको सीमावर्ती गाउँ पुग्दा हामीले जे देख्यौं त्यो हामीलाई अहिले पनि विश्वास गर्न गार्हो भइरहेको छ । उत्तरी सीमामा रहेका यस्तो गाउँ, जुन आफ्नै देशसँग जोडिएको छैन, न सञ्चारले न कुनै भौतिक पूर्वाधारले न त देशले दिनुपर्ने कुनै पनि अधारभूत सेवाले नै ।

 

सून्य सम्पर्कमा रहेको त्यो गाउँ

दोलखा जिल्लाको लाप्ची गाउँ । जुन समुद्रि सतहबाट ४ हजार मिटरको उचाईमा पर्छ । लाप्ची गाउँ पहिले लामाबगर गाविसमा पथ्र्यो र अहिले बिगु गाउँपालिका वाड नम्बर–१ मा पर्छ । केही समय अघि हामी लाप्ची गाउँ हुँदै नेपाल–चीनको सीमावर्ती क्षेत्रको स्थलगत रिपोर्टिङमा गएका थियौं ।
र, त्यस क्रममा हामीले अघिल्लो भागमा भनिसक्यौ कि चीन संगको सिमानामा रहेको पिल्लर नम्बर ५७ नै गायब भएको यथार्थ ।

यो बाटो भएर रिपोर्टिङका लागि अघि बढ्दै गर्दा लाप्चीका नागरिकसंग अनेकौं समस्या देख्यौं । र, त्यस मध्ये एक हो सूचना प्रविधिको समस्या । हो हामी पछिल्लो समय २१ औं शताब्दीलाई सूचना प्रविधिको युग भनेर दावी गर्छौं । त्यति मात्रै नभएर त्यही सूचना प्रविधिकै कारण विश्व नै एउटै गाउँ जस्तै भएको पनि भन्छौ र भएको पनि छ ।

तर, नेपालकै भूगोलमा लाप्ची त्यस्तो ठाउँ रहेछ । जहाँ सूचना प्रबिधिका युगमा प्रयोग हुने कुनै एक साधन पनि छैन । तपाई दर्शकलाई अचम्म लाग्न सक्छ । अहिले हाम्रो हात हातमा मोबाइल छ । घर घरमा इन्टरनेट छ । तर, त्यहाँका नागरिकसंग मोबाइल, इन्टरनेट, पत्रपत्रिका, रेडियो, टेलिभिजन लगायत अन्य कुनै पनि साधनको पहुँच छैन । ४५ परिवार रहेको यो गाउँका एकाध युवाले मोबाइल बोक्छन् पनि तर त्यसले काम गर्दैन । जब हामी छेतन शेर्पालाई तपाईसँग मोबाइल छ, भनेर सोध्यौं, जवाफमा उनले हाँस्दै, मोबाइल रहरको लागि बोक्छु । यसमा फोन लाग्दैन, एक वर्षमा एक दुई पटक लामाबगर झर्छु, त्यति बेला नै मोबाइल चार्ज गर्छु, त्यसपछि एक दुई दिन चल्छ त्यो पनि फोटो खिच्न मात्रै ।

मोबाइल त उनीसँग थियो । तर, स्वीच अफ । स्वीच अफ मोबाइल बोक्नुको कारण बडो मार्मिक छ । रहर लागेर सेट मात्रै बोक्नु पर्ने वाध्यता छ ।

यहाँका अधिकांश नागरिकले आजसम्म टेलिभिजन सेट पनि देखेका छैनन् । न पत्रपत्रिका पढेका छन् न त रेडियो र इन्टरनेटको पहुँच । इमेर्जेन्सी परेर फोन गर्नु प¥यो भने लाप्चीबाट दुई दिन हिडेर तल लामाबगर आउनुपर्छ । फेरी दुई दिन हिडेर गाउँ फर्कनुपर्छ । यस्तो लाग्छ कि, अझै ढुंगे युगमा वाँचेको छ लाप्ची गाउँ ।

यहाँका अधिकांश नागरिकलाई नेपाली भाषा बोल्न आउँदैन । भाषाकै कारणले कति नागरिकले आफुलाई लागेको कुरा हामीसँग ब्यक्त गर्न सकेनन् । न त उनीहरुले बोलेको शेर्पा भाषा नै हामीले वुझ्न सक्यौं ।

गाउँभरिमै दुई चार जना मात्रै नेपाली बोल्छन् । तर त्यो पनि प्रष्ट छैन । आफ्नो ठाउँमा सञ्चार सम्पर्क नहुँदा अनेकौं पीडाहरु भइरहेको सुनाउदै थिए उनीहरु । र भन्दै थिए, आफुहरुले बोर्डरको सुरक्षा गरेर बस्दा पनि देशले हेलाँ गरिरहेको छ ।

हो, आधारभूत सञ्चार नै नभएको लाप्चीमा अरु केही छैन । दैनिकी चलाउन छिमेकी चीनसँग निर्भर रहनुपर्ने उनीहरुलाई सरकार के हो, नागरिक भएपछि राज्यबाट के कस्तो सेवा सुविधा पाइन्छ र राज्यसंग कस्तो अपेक्षा राख्नुपर्छ भन्ने सम्म पनि थाहा छैन ।

साँच्चै पीडादायी छ लाप्चीका नागरिकको जीवन । बाँच्नका लागि गर्नै पर्ने संघर्ष त छँदैछ, औसत मानिसहरुले भोगिरहेको सुविधा नै टाढाको सपना जस्तो बनेको छ ।

लाप्चीमा सञ्चार सम्पर्कको कुनै पनि माध्यम छैन । यहाँका नागरिकहरुलाई पनि सञ्चार सम्पर्कमा ल्याउनु पर्छ भनेर कसैले पहल गरेको पनि छैन । हरेक वर्ष जेष्ठदेखि कार्तिकसम्म तामाकोशीमा पानीको बहाव बढेपछि त के सञ्चारको मौ कुरा, कुनै पनि तरिकाले देशसँग नै सम्पर्क नै हुँदैन । हुन्छ त मात्रै मंसिरदेखि बैशाखसम्म । त्यसमा पनि दुई दिन हिडेर ।

लाप्चीका बुद्धिजिवीहरुले यो ठाउँलाई सञ्चार सम्पर्कमा ल्याउनका लागि धेरै प्रयास गरे । तर उनीहरुको कुरा कसैले सुनेन । उनीहरु भन्दै थिए, कुनै बेला यस्तो लाग्छ, लाप्ची छुटै देश हो, त्यही भएर सरकारले हामीसँग जंगली व्यवहार गरेको छ । स्थानीय एक शेर्पा युवा भन्छन् सरकारले यहाँका नागरिकसँग दोस्रो दर्जाको व्यवहार देखाएको छ । पहिले पहिले त हामीहरुलाई नेपाली नागरिक नै मानिंदैन थियो । तर अहिले आएर नागरिकता दिइएको छ । तर, त्यो कागजको खोस्टो बाहेक अरु केही नभएको गुनासो गर्छन् स्थानीय कर्मा शेर्पा ।

पछिल्लो समय संचार प्रविधिमा भएको विकास यति तीव्र छ कि, मानिसको अभिन्न अंग जस्तै वनिसकेका छन् कतिपय संचार प्रविधी र उपकरण । तर, कुनै संचार माध्यममा पनि पहुँच नहुनु र टेलिफोन या मोवाइल फोन नै प्रयोग गर्न नपाउनुको पीडा कस्तो होला । त्यो त भोग्नेहरुलाई मात्र थाहा छ ।

हो, जुन अवस्थाको वारेमा शहर र सुविधामा रहेकाहरु कल्पना सम्म गर्न सक्दैनन्, त्यो पीडादायी अवस्थाबाट गुज्रिरहेका छन् लाप्चीवासी । हुन त उनीहरु हाम्रो सिमानाको साक्षी र रक्षक वनेर वसिरहेका छन्, तर राज्यले सीमा रक्षा त परको कुरा उनीहरुको अधारभूत आवश्यकतामा समेत ध्यान दिन सकिरहेको छैन ।

हो, शहर र सुविधा भएको ठाउँमा बसेर हेर्दा र सुन्दा यो दन्त्य कथा जस्तो लाग्छ । तर त्यहाँका नागरिक पाषाण युगकै झल्को मिल्ने गरि जीवन जिइरहेका छन् । अझै विडम्वना त के भने, हाम्रो भूमि र सिमाको साक्षी र रक्षक हुन् उनीहरु । तर पनि राज्यबाट उनीहरु नै उपेक्षित हुनुपरेको छ ।
हामीले कल्पनै गर्न नसक्ने जीवन शैली । यस्तो जीवन शैली, जहाँ सञ्चारका कुनै पनि प्रविधी र माध्यमले प्रवेश नै पाएको छैन । अन्य भौतिक सुख र सुविधाका कुरा त परै जाओस् । जहाँका नागरिक आफ्नै भूमिमा साथमा नागरिकता लिएर पनि मनभरि देशको माया संगालेर पनि अनागरिकको जीवन जिउन बाध्य छन् । आखिर किन पुग्न सकेको छैन देशको उपस्थिति त्यहाँ । जवाफ जनप्रतिनिधी र जिम्मेवार प्रशासकहरुसँग पनि छैन ।

 

उम्किदै जिम्मेवारीबाट

यही मुलुक भित्र पर्ने एउटा भुभाग अर्थात् लाप्ची गाउँ । तर, त्यही भुभाग यो मुलुकको सम्पर्कमा बर्षको ६ महिना भन्दा बढी समय हुँदैन । यो कुनै सामान्य कुरा होइन एउटा मुलुकको लागि । भौगोलिक दुरी टाढा हुन सक्छ तर सरकारबाट राजधानी र दुरदराज दुबै समान दुरीमा हुनुपर्छ ।
लाप्चीका नागरिकलाई सञ्चार सम्पर्कमा जोड्नका लागि के के काम भइरहेको छ ? निर्वाचनको बेला सञ्चारलाई मुख्य एजेन्डा बनाएका राजनीतिक दलहरुले के गरिरहेका छन् ? यस्तै यस्तै प्रश्नको जवाफ खोज्नका लागि हामी सुरुमा सिङ्गटीमा रहेको बिगु गाउँपालिकाको कार्यालयमा पुग्यौं । र, त्यहाँ गाउँपालिकाका उपाध्यक्ष सञ्जिव ओलीलाई भेट्यौं । उनले पनि हामीसँग दुखेसो पोखे र भने हामी स्थानीय सरकारले चाहँदैमा केही नहुने रहेछ । कुनै आकस्मिक दुर्घटना वा विरामी भएको खण्डमा के हुन्छ लाप्चीका नागरिकलाई ? भनेर सौध्यौं । उपाध्यक्ष ओलीले भने त्यसो भयो भने यहाँका नागरिकलाई मर्नु बाहेक अर्को बिकल्प छैन । भगवान भरोषा हो । उनको यो जवाफ पछि हामी त्यहाँका प्रदेशसभा सांसद् पशुपति चौलागाईँलाई भेट्न पुग्यौं । उनलाई हामीले लाप्चीसँग यो मुलुकको कति महिना सम्पर्क विच्छेद हुन्छ भनेर सोध्यौं । जवाफमा उनले, बाह्ै महिना सम्पर्क बिच्छेद नै हुने र जेठदेखि असोजसम्म त त्यहाँका नागरिकबारे कसैलाई केही थाहा थाहा नै नहुने जवाफ दिए । उनी स्वीकार्दै थिए कि लाप्चीका नागरिकले भने जस्तै सरकारले नै विभेद गरेको छ ।
यो अवस्था चिर्न तपाईंको भूमिका केही हुन्न ? तपाईको तर्फबाट के पहल भइरहेको छ लाप्चीसँग सम्पर्क स्थापनाका निम्ती ? हाम्रो यो प्रश्नको जवाफमा उनले लाप्चीमा नेपाल टेलिकमको टावर राख्नका लागि छलफल सुरु भएको बताए ।

प्रदेश सांसद् चौलागाईँको यस्तो जवाफ आएपछि हामी निर्वाचनको बेला लाप्चीमा टेलिफोनको टावर पु¥याउने आश्वासन दिएका पार्वत गुरुङलाई भेट्न पुग्यौं । त्यही कुरालाई मुद्दा बनाएर त्यहाँबाट प्रत्यक्ष निर्वाचित पनि भएका थिए उनी । हामी यही विषयमा कुरा गर्न दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई भेट्न चरिकोट पुग्यौं । उनलाई हामीले लाप्चीमा सञ्चार सम्पर्क छैन । नागरिकले सञ्चारको उपभोग गर्न पाएका छैनन् । तपाईहरुको त्यहाँ सञ्चार सम्पर्क हुन्छ कि हुँदैन । भनेर सोध्यौं । जवकि, उनलाई त्यहाँको यथार्थ नै थाहा रहेनछ ।

लाप्चीका स्थानीय र जनप्रतिनिधी समेत भन्दै थिए त्यहाँ फोन सम्पर्क त के कुरा संचारका कुनै पनि उपकरण र प्रविधीको पहुँच नै छैन । तर, प्रमुख जिल्ला अधिकारी पाठकले के ठाने कुन्नी, हामीसंग झुठ मात्रै वोले ।

लाप्ची यस्तो ठाउँ हो, जहाँका नागरिक दुई दिन पैदल हिडेर एक कल फोन गर्नका लागि लामाबगर आइपुग्नुपर्ने वाध्यतामा छन् । त्यो पनि वर्षमा ६ महिना मात्रै । कारण तामाकोशीमा पानीको बहाव बढेपछि बाटो नै बन्द हुन्छ । तर प्रमुख जिल्ला अधिकारी भनिरहेका छन् कि लाप्चीमा फोन चल्छ ।
जब हामीले स्थानीय र जनप्रतिनीधीको समेत गुनासो सुनायौँ प्रमुख जिल्ला अधिकारीलाई, त्यसपछि उनी भन्दै थिए कि त्यो ठाउँ भनेको विकट नै हो । अब त्यहाँको वस्ती नै सुगम ठाउँ तिर सार्नुपर्छ ।

जति दुर्गम भएपनि राज्यले सुगममा दिने नागरिकको सुविधा सरह नै सुविधा दिनु पर्छ । जहाँसम्म लाप्चीको कुरा छ, त्यो ठाउँ त सिमावर्ती क्षेत्र भएका कारणले पनि राज्यको अझै बढी ध्यान जानु पर्छ । तर दुःखको कुरा राज्यका सवै जिम्मेवार निकायका अधिकारीलाई त्यसतर्फ सोच्ने फुर्सद नै छैन ।
हुन त नागरिकका लागि सोच्ने फुर्सद नै पाउँदैनन् यो देशका शासकहरुले । जो जो सत्तामा पुग्छन्, उनीहरुलाई शासनमा रहुन्जेल आफ्नै स्वार्थ ठूलो हुन्छ ।

भूगोलले पनि ठगेको छ, लाप्चीका नागरिकलाई तर दृढ इच्छाशक्ति र इमान्दारिता हुने हो भने सामान्य सुविधा पनि पु¥याउन नसकिने भन्ने हुँदैन । एउटा मोवाइल फोनको टावर दिएर सञ्चार सम्वन्धमै ल्याउन नसकिने भन्ने त झनै हुँदैन । त्यसैले हामी ती जनप्रतिनिधी र सरकारका ती निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छौं, कि, उनीहरुको यो दैनिकी वदल्न तत्काल पहल थालियोस् ।

नोट : लेखक महतो एभिन्यूज टेलिभिजनका संवाददाता हुन् ।

Loading...