चर्चा किवी फलको…

२०७५ माघ १५ मंगलवार
NewsDesk ShikharNews

नेपालमा बेलाबेलामा नयाँ नयाँ खेतीपातीको चर्चा परिचर्चा भइरहेको हुन्छ । कहिले पेपीनो मेलन त कहिले एभोकाडो, कहिले ग्राउण्ड एपल त कहिले ड्रागन फ्रुट । यस्तै चर्चा परिचर्चाको विचमा अहिले चर्चाको विषय भनेको किवी फल हो ।
किवी फलको उद्गम स्थल चीन हो जहां यसलाई याङ्गताव भन्ने गरिन्छ । साथै गुजबेरीको नामले पनि पुकारिन्छ । यस्को बैज्ञानिक नाम भने एक्टिनिडिआ डेलिसिअसा हो । पछि यो फल चीनवाट न्युजिलैण्ड भित्रियो र यस्को व्यावशायिक उत्पादन शुरु भए पश्चात न्युजिलैण्डमै पाउने एकप्रकारको चरा किवीको नामवाट यो फललाई किवी फल नामाकरण गरियो ।
नेपालमा यो फल करिव २५÷२६ वर्ष अगाडी भित्रिएको भएतापनि यस्को विस्तार हुन थालेको भने ५÷७ वर्ष मात्र भयो । तर अहिले आएर यस्को विस्तार भने तिब्र गतिमा भईरहेको छ । किवी खेतीको लागि नेपालको हावापानी उपयुक्त भएको, यो फलमा प्रचुर मात्रामा भिटामिन र मिनरल तत्व (ओमेगा – ३ समेत) पाइने, र निर्यात योग्य फल भएको कारणलेनै यस्को विस्तारमा तिब्रता आएको भन्दा फरक नपर्ला । विभिन्न सरकारी कृषि फार्म लगायत निजी क्षेत्रहरु पनि यस्को विस्तार कार्यमा लागि परेका छन । फलस्वरुप, यसको वेर्ना कृषकहरुलाई निशुल्क एवं किफायति दरमा उपलव्ध गराउदै आएका छन । सरकारी तथा निजी नर्सरीहरुमा वेर्ना उत्पादन गर्ने कार्य पनि जारी छ । वर्षेनी यसको क्षेत्रफल तथा उत्पादन बढ्ने क्रममा छ । शुरु शुरुमा बजारमूखी जात कस्तो हो भन्ने थाहै नपाई जुनसुकै जात पनि धमाधम लगाउदै जांदा पछि उत्पादन भएको फलले बजार समस्या भोग्नुपरेको तथ्यलाई मध्यनजर राखि हाल बजारमूखी जातको वेर्ना उत्पादन गर्ने तर्फ ध्यान पु¥याइएको देखिन्छ जुन सकारात्मक छ । बजारमूखी जात भन्नाले हेवार्ड जातको फल हो । दोलखा जिल्लावाट व्यावशायिक उत्पादन शुरु गरिएका यो फल अहिले पूर्वी, मध्ये भई पश्चिमी पहाडी भेगसम्म फैलिसकेका छन ।

एउटा अध्ययनले यो फलमा पाइने पौष्टिक तत्व अन्य फलहरुमा पाइने पौष्टिक तत्व भन्दा १६ गुणा बढी पाइने भन्ने देखाइएको छ । यसैकारणले गर्दा पनि यो फल प्रति कुषक तथा उपभोक्ता दुबै आकर्षित भएको हुन सक्छ । यसै विच नेपालमा यसको खेती दशौं हजार हेक्टरमा विस्तार गर्न सकिने भन्ने तथ्याङ्कले देखाएको छ । तर क्षेत्रफल तथा उत्पादन बृद्धिको कुरा गर्दैगर्दा यसको बजार पक्षलाई भने बाइपास गर्न मिल्दैन । नेपालमा बेलाबेलामा नयां नयां खालका तरकारी, फलफूल आदि उत्पादन गरिन्छ तर बजार सम्वन्धि ज्ञानको अभावमा उत्पादन पश्चात बजार नपाई कृषक÷उत्पादकहरु दुबेका प्रमाण पनि थुप्रै छन ।
सुनिन्छ, अहिले किवी फलको बजार समस्या छैन । तर निरन्तर उत्पादन बृद्धि हुंदैजांदा यसको मूल्य लगायत गुणस्तरको विषयमा पक्कै पनि प्रश्न उठ्ने छ । अनि अहिले जस्तो उत्पादन पकेटमै प्रतिकिलो रु. ४०० मा विक्रि गर्न सक्ने अवस्था रहदैन । अहिले नेपालमा किवीको बजार भनेको खास उपभोक्ताको लागि खास (आयतन) उत्पादनको रुपमा रहिआएको छ । तसर्थ, बजारको खासै समस्या नभएको हो । तर, उत्पादन बृद्धिको साथसाथै बजार पनि प्रतिस्पर्धात्मक हुंदैं जान्छ । त्यतिबेला, आज पाएको मोल पाउनै सक्तैन कुषकले । यो विषय गहन छ र यसलाई कृषक÷उत्पादकहरुले बेलैमा मन्न गर्दा वेश होला । यस्को उत्पादन लागत पनि उच्च छ । विरुवा लगाएको तेश्रो वर्षदेखि मात्र उत्पादन दिन थाल्छ त्यो पनि पुरा क्षमताको हैन । पुरा क्षमताहो उत्पादन लिनलाई ६÷७ वर्ष कुर्नु पर्छ । पहिलो वर्ष यसको प्रति हेक्टर लागत औषत रु. १६ लाख ६१ हजार ५ सय पर्छ । दोश्रो वर्ष रु. १५४,९००, तेश्रो वर्ष रु. १७०,३९०, चौठो वर्ष रु. १८७,२४९, पाँचौं वर्ष रु. ३७४,८५८, छैंठो वर्ष रु. ४१२,३४३, सातौं वर्ष रु. ४५३,५७७ लागत लाग्छ । यसरी सात वर्षमा रु. ३४,१४,८१७ लागत लाग्छ भने त्यहि सातौं वर्षमा कुल रु. ३५,५०,००० वरावरको प्रतिफल आंउछ । ( दोलखाको वोचस्थित वागवानी फार्मको तथ्याङ्कमा आधारित) यो कुरा किवी खेती गर्नेले बुझ्नु आवश्यक छ । यो तथ्याङ्कले पूर्ण रुपमा प्रतिफल लिन कृषक÷उत्पादकहरुले धैर्य लिनु आवश्यक छ भन्ने प्रष्ट पारेको छ ।
किवी फल वारे कुरा गर्नुपर्दा अझैपनि काठमाण्डौंकै कतिपय मान्छेहरुले यो फल चाख्ने त के देखेका पनि छैन । कारण, यो फल अति महंगो छ र यस्को पहुंच भनेको अहिले सम्म हुनेखानेवालहरुकै मात्र हो भन्दा फरक नपर्ला । यो वाहेक यस्को उपभोक्ता भनेको तारे होटेलहरुनै हुन । अहिले जुन रुपले यो फलको विस्तार हुंदैं गरेको छ त्यहि अनुपातमा यस्को विस्तारले निरन्तरता पाइृरहने हो भने यसको अहिलेको मूल्यमा गरिावत त आउनै पर्छ । तरपनि, किवी फल विस्तारमा लागी परेका व्यक्ति, संस्थाहरुले अहिलेनै यसको उत्पादन लागत न्यूनीकरणका लागि अध्ययन अनुसन्धान कार्य थाल्न जरुरी छ । साथै, अझै कम समयमै फल दिने खालको उन्नत जातको किवी पहिचान गरि कृषकहरुलाई वितरण गर्न सकेमा यो फलले अझ वढि प्रतिफल दिई आम उपभोक्ता माझ पु¥याउन सफल हुने देखिन्छ । किवी फलको लागि जारी प्रयास सह्राहनिय त छदैछ तर भविष्यमा कुषक नदुब्ने गरि यसको विस्तार गर्नु पनि उतिकै आवश्यकता छ । ं