टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी

२०७५ माघ १८ शुक्रवार
NewsDesk ShikharNews

दोस्रो टि–२० खेलमा यूएईलाई ४ विकेटले पराजित गर्दै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखलामा १-१को बराबरी गरेको छ।

यसअघि बिहीबार भएको पहिलो खेलमा २१ रनले पराजित नेपालले शुक्रबार सम्पन्न दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै शृंखलामा बराबरी गरेको हो।

यूएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो। दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन्।

नेपालका लागि दीपेन्द्रले नटआउट ४७ रन जोडे। ४१ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे। पवनले २५ बलमा २ चौकासहित १८ रन जोडे। यस्तै करण केसीले २०, प्रदीप ऐरीले ८ र ज्ञानेन्द्र मल्लले ७ रन जोडेका थिए।

त्यसअघि आइसिसी एकेडेमी ओभल मैदान दुबईमा शुक्रबार जारी खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमात्रै जोड्न सकेको थियो।

नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शन गरेपछि यूएई सो स्कोरमा समेटिएको हो। उसका चुन्दानगापोइल रिज्वानले ४४ रनबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्। ४३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै शाइमन अनवरले १४, मोहम्मद बुटाले ११ रनबाहेक अन्यको दोहोरो अंक रहेन।

नेपालका अविनाश बोहराले ३ विकेट लिए। चार ओभरमा अविनाशले २० रनमात्रै खर्चे। यस्तै सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए।

सुरुदेखि नै नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन जारी राखे। पहिलो ओभरमै सोमपालले यूएईका ओपनर अस्फाक अहमद(६)लाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराएका थिए।

तेस्रो ओभरमा घुलम शब्बिर(६)लाई अविनाशले विकेटकिपरको प्रदीप ऐरीको हातबाट क्याच गराएका थिए। यस्तै सन्दीप लामिछानेले छैटौं ओभरको पाँचौं बलमा शाइमन अनवर(१४) र अन्तिम बलमा मोहम्मद उस्मान(०)को विकेट लिएपछि यूएईमाथि दबाब बढेको थियो।

रिज्वानले १९औं ओभरसम्म एकतर्फको स्ट्राइक धानेपनि उनलाई कसैले साथ दिन नसक्दा यूएई सो स्कोरमा समेटिएको हो। रिज्वानलाई अविनाशले उन्नाइसौं ओभरको दोस्रो बलमा पारस खड्काको हातबाट क्याच गराएपछि यूएईले थप ३ रनमात्रै जोड्न सकेको थियो।

यूएईविरुद्धको तीन खेलको टि–२० शृंखलामध्ये बिहीबार नेपालले पहिलो खेल २१ रनले गुमाइसकेको छ। त्यसैले शृंखलामा बराबरी गर्न तथा शृंखला हात पार्ने सम्भावना जीवित राख्न नेपालले यो खेल जित्नैपर्ने बाध्यता छ।

टि–२० शृंखलाको अन्तिम खेल भने आइतबार हुनेछ। नेपालले यूएईविरुद्ध यसअघि खेलेको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला भने २–१ले जितिसकेको छ।