आजदेखि प्रदेश १ बाट पनि श्रम स्वीकृति

२०७५ माघ २३ बुधवार
Newsdesk Shikharnews

काठमाडौं । वैदेशिक रोजगारसँग सम्बन्धित श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने वाध्यता हट्न लागेको छ । कतिपय प्रदेशबाट शुरु भैसकको श्रम स्वीकृति आजदेखि प्रदेश १ बाट पनि सञ्चालनमा आउन लागेको हो ।

सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।