हिन्दी मिडियम २ बाट कमब्याक गर्दै इरफान खान

२०७५ माघ २३ बुधवार
Newsdesk Shikharnews

गएको वर्ष न्यूरोइण्डोक्राइन ट्यूमरका कारण बलिउड कलाकार इरफान खान गम्भिर स्वास्थ्य समस्यामा परेका थिए । उपचारका लागि बेलायत पुगेका उनको स्वास्थ्य स्थिति अत्यन्तै गम्भिर भएको भन्दै विभिन्न आशंका गरिएको थियो । इरफानकै तर्फबाट पनि उनको स्वास्थ्य समस्याका बारेमा इमोशनल भनाई सार्वजनिक भएका थियो ।

स्वास्थ्यमा समस्या देखिए लगत्तै इरफान उपचारका लागि बेलायत पुगेका थिए लामो समयदेखि उनी लण्डनमै उपचार गराइरहेका छन् । लण्डनमा बसेर उपचार गराइरहेका इरफानका प्रशसंकलाई हर्षित बनाउने खबर सार्वजनिक भएको छ । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको खबर बाहिरिएको छ । यतिमात्रै होइन, उनी चाँडै भारत फर्कने तयारीमा छन् र भारत आएपछि २०१७ सालमा प्रदर्शन भएको फिल्म हिन्दी मिडियमको सिक्वेलमा काम गर्ने भएका छन् ।

फिल्मका निर्माता दिनेश विजनले पनि यो कुराको पुष्टि गरेका छन् । हिन्दी मिडियम २ लाई होमी अदजनियाले निर्देशन गर्दैछन् । एक भारतीय न्यूजपोर्टलका अनुसार मिडियम २ मा इरफानको अपोजिटमा करीना कपुर हुन सक्छिन् । फिल्मका निर्माताले अभिनयका लागि करीनालाई प्रस्ताव गरिसकेका छन् । यद्यपी अहिलेसम्म करीनाले फिल्ममा अभिनय गर्नका लागि मञ्जुरी दिइसकेकी छैनन् । यदि करीनाले अभिनयका लागि स्वीकृति जनाइन् भने इरफान र करीनाको एकसाथ अभिनय गरेको पहिलो फिल्म बन्नेछ मिडियम २ ।

हिन्दी मिडियमका इरफान खानले राज बत्राको भूमिकामा अभिनय गरेका थिए । फिल्ममा इरफानको अपोजिटमा पाकिस्तानी अभिनेत्री सबा कमरले अभिनय गरेकी थिइन् । पाकिस्तानी अभिनेत्री सबाले राजकी पत्नी मीत बत्राको भूमिका निभाएकी थिइन् । फिल्ममा हिन्दी मिडियममा पढेका हिन्दी अभिभावकको संघर्ष प्रस्तुत गरिएको थियो । जो आफ्ना बालबालिकालाई दिल्लीको राम्रो नीजि विद्यालयमा पढाउन चाहन्थे । २०१७ को हिट फिल्म हिन्दी मिडियमबाट इरफानले भारतकै प्रतिष्ठित अवार्ड फिल्मफेयरमा बेष्ट एक्टरको अवार्ड पनि पाएका थिए ।

Loading...