प्रचण्डले नेकपा फुटाउन सक्छन्?

२०७५ माघ २७ आइतवार
NewsDesk ShikharNews
काठमाडौैं। दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपनि प्रधानमन्त्रीलाई निरन्तर साथ दिँदै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीचको विवाद झन चुलिँदो छ। सरकारको काम कारवाहीको सवत्र आलोचना भइरहेका बेला सरकारको पक्षमा खुलेर समर्थन गर्दै आएका प्रचण्ड पछिल्लो समय सरकारको कार्यशैलीको  खुलेर आलोचना गर्न थालेका छन्।
अमेरिकाले ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामा हस्तक्षेप गरेपछि नेकपा अध्यक्षको हैसियतमा प्रचण्डले कडा विज्ञप्ति जारी गरी त्यसको कडा विरोध गरे। प्रचण्डको विज्ञप्तिपछि मुलुकभित्र नयाँ राजनीतिक तरंग उत्पन्न भयो।  प्रधानमन्त्री ओलीेले प्रचण्डले विज्ञप्ति निकाल्न हटारो गरेको र ‘चिप्तिएको’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्ड आक्रोशित भएका छन्।
दुई अध्यक्ष गम्भीरतापूर्वक लागेको भए एकताको गाँठो छिट्टै फुक्ने थियो, सचिवालयका एक सदस्यले भने,‘उहाँहरुकै स्वार्थका कारण कार्यकर्तामा निराश थपिएको छ।’ नौ महिनासम्म पार्टीको सांगठानिक संरचनाले पूर्णता नपाउदा एकताले गति पक्रिन सकेको छैन, शीर्ष नेतृत्व नै मिल्नुपर्ने ठाउँमा अनावश्यक विवादमा अल्झिने गलत प्रवित्तिले थप अन्यौलता बढाएको छ, ती केन्द्रीय सदस्यले भने ।
सचिवालय बैठकले पनि एकताको विधि तय गर्न सकेको छैन् । सरकार र पार्टी सञ्चालन एकलौटी रुपमा अगाडि बढाएको भन्दै आलोचित बन्दै आएका ओली थप अल्पमतमा पर्ने देखिएको छ।
सचिवालयमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताले प्रचण्डलाई साथ दिने हो भने पार्टीमा ओलीलाई निर्णय गराउन निकै कठिनाई हुने सचिवालयका एक सदस्यले बता । ती सदस्यले भने,‘सरकार र पार्टी सञ्चालन एकै व्यक्तिले गर्दा काम प्रभावकारी हुन सक्दैन, अब एक पद एक व्यक्तिको अवधारणाअनुसार अगाडि बढनुपर्छ।’
भेनेजुएला प्रकरणमा आफूलाई कर्नरमा पार्न खोजेपछि प्रचण्डले माओवादीलाई सिध्याइयो अब जे गरेपनि हुन्छ भन्ने ठानेको हो भने अर्को माओवादी जन्मिन्छ भन्ने अभिव्यक्ति दिएको हुन सक्छ। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, लामोसमयसम्म पनि पार्टी एकताले पूर्णता नपाएको र आफू ओलीको सहयोगी जस्तोमात्र देखिएपछि प्रचण्डले कडा अभिव्यक्ति दिएको हुन सक्ने नेताहरुको ठम्याई छ।
तर प्रचण्डको स्वभाव भने भिन्नै प्रकारको छ। लामो सोच विचार गरेर अभिव्यक्ति दिने र अभिव्यक्ति दिएपछि त्यसलाई कार्यान्वयन गर्नेतर्फ प्रचण्ड अग्रसर हुन्छन, भलै त्यसको परिणाम आफ्नो विरुद्धमा किन नहोस्। प्रचण्डको अर्को स्वभाव भने चाँडै अरुको कुरामा प्रभावित हुने हो। भेनेजुएला प्रकरणमा पनि प्रचण्डलाई सकैले उक्साएको आरोप लाग्दै आएको छ।
शान्ति प्रक्रियामा आएपछि पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सेनापति  र पशुपतिका भट्ट फेर्ने निर्णय आफ्नै स्वविबेकले भन्दा पनि कसैको उक्साहटमा गरेको आरोप लागेको थियो, यी दुवै प्रकरणका कारण नौ महिनामा नै प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्यो। लामो कसरत पछि दुई दलबीच एकता भएको र यही एकताका कारण नेकपाले झण्डै दुई तिहाई बहुमत ल्याएको प्रचण्डले बिर्सिएका छैनन्। आफूले पार्टीभित्र स्पेश नपाएको र केपी पक्षले पेलेरै जान खोजेका कारण प्रचण्डले अर्को माओवादी जन्मिन्छ भन्ने अभिव्यक्ति दिएको प्रचण्डलाई नजिकबाट नियाल्नेहरुको बुझाइ छ।