मैले बुझेको प्रचण्ड– शिव पौडेल

२०७५ फागुन १ बुधवार
NewsDesk ShikharNews
प्रचण्डले माओवादी जन्मिने कुरा गरिरहँदा धेरैलाई चित्त बुझेको छैन। कसैलाई हाँसोको बिषय भएको छ भने कसैले यसलाई फगत धम्कि मात्र ठानेका छन्। दशबर्षे जनयुद्धको धङधङीले अझै नछाडेको भनेर केही वरिष्ठहरुले उपहास पनि गरेका छन्। प्रचण्ड बोलेपछि  त्यसको कुनै प्रतिक्रिया न आओस् यो हुनै सक्दैनथ्यो। २०५२ साल यता प्रचण्ड बोल्दै आएका छन् अरुले प्रतिक्रिया जनाउँदै पछ्याएका छन्। 'जनयुद्धको सङ्खघोष

गर्दा, आधार ईलाका निर्माण गर्दा, दक्षिण एसियाली संगठन कम्पोसा गठन गर्दा, नयाँ संविधानको कुरा उठाउँदा या गणतन्त्रको हुंकार छोड्दा' बोलि प्रचण्डको थियो। ताली केही नेता र कार्यकर्ताको बज्थ्यो बाँकी सबै प्रतिक्रियात्मक कित्तामा उभिन्थे। प्रचण्ड सधै क्रिया भए, अरु असंख्य वरिष्ठहरु प्रतिक्रियामा ठडिए। प्रचण्ड बोले, उनले गरे र देखाए पनि।उनी बोल्छन् र बोलेपछी देखाउँछन। यही कारण प्रचण्डले बोलेको अर्थ लाग्छ।अनि ज-जसले उडाउँछन,  फगत धम्की ठान्छन्। विभिन्न लान्छना लगाउछन र अन्ततः ती ब्यर्थ सावित हुन्छन्।
अर्को माओवादी जन्मिने कुरालाई जस्ताको तस्तै बुझियो भने सहि हुने छैन। उनले बोलेको सानो शव्दको अर्थ सामान्य  पक्कै छैन।'माओवादी नै जन्मिन्छ, जन्मेपछी त्यसले हतियारै बोक्छ, पुरानै तरिकाले लड्छ,सके सत्ता कब्जा गर्छ नसके सिद्दिन्छ' भन्ने हिसाबले अर्थ्याइयो भने त्यो गलत हुनेछ। समय फेरिएको छ। चिज बदलिएको छ। तत्कालीन सत्ताको मालिक खोपिमा खुम्चिएको छ।त्यसका मतियारहरु सडकमा छरपस्टिएका छन्। तेस्रो नंबरका पुच्छरेसँग हात मिलाएर साथ गर्न सुरु गरिएको छ। जेहोस सजिलो छैन।सामन्जस्यता मिलेको छैन। मैत्रीपुर्ण सम्बन्ध छैन। अमिलो पिरो बिषैलो हुँदाहुँदै पनि मुख मिठाएर खानु परेको छ। अग्लो, होचो हुँदाहुँदै पनि कुम जोड्ने कोशिश गर्नु परेको छ। पेलाइ बढी भए दुखाइ असह्य हुन्छ। दुखे चीत्कार निस्कन्छ। अहिले यो चीत्कार अनायास निस्केको होईन। सोची सम्झी निकालेको आक्रोशपुर्ण चेतावनी हो। यो आफैमा एउटा बिद्रोह पनि हो।
प्रचण्ड एउटा बिद्रोही नेता हुन्। आरोह अवरोह सँग खेल्न उनलाइ मजा आउँछ। उनी शान्तपुर्वक बस्दैनन। बसेको बेला उनको मथिङ्गलमा आँधी तुफान मच्चिरहेको हुन्छ। उनी जुरुक्क उठ्छन र बुरुक्क उफ्रिन्छन।उफ्रनुमा पनि उपलब्धि देख्छन्। बोल्छन् र बोलेर नयाँ वहसको सिर्जना गर्छन्। अरु वहसमा बहकिन्छन र उनी त्यहीँबाट निचोडमा पुगिसकेका हुन्छन्। अन्तरबिरोधलाई सतहमा ल्याउने, सबैको प्रतिक्रिया बुझ्ने र आफ्नै तरिकाले हल गर्ने यो उनको पुरानो आदत हो ।तर बहस गर्नेहरू न प्रचण्डलाई चिन्छन न त उनको बोलिको अर्थ बुझ्छन्। किनकि प्रचण्ड एउटा तीर सोझ्याउँछन र कैयौंलाई एकैचोटि निशानामा पार्छन्।
प्रचण्ड सधैं नयाँ प्रयोग गर्छन्। प्रयोग सबै सफल हुदैनन् र भएनन् पनि। नेपालमा दीर्घकालीन जनयुद्ध एउटा प्रयोग हो। त्यो सफल हुने नदेखिए पछि त्यसलाई आम शसस्त्र बिद्रोहको कार्यनीतिमा लगेर फ्युजन गरे। यतिले पुगेन र एक्काइसौं सताब्दिको जनवादको कार्यदिशा ल्याए। अशान्त चित्तका भएर पनि शान्ति प्रक्रियामा आए। यो उनको रहर थिएन न त यसलाई बाध्यता मात्रै भन्न सकिन्छ। उनी त्यहाँ पनि नयाँ प्रयोग गर्दै थिए। 'माओवाद छोडे, संसदबादी भए। संसोधनबादी एमालेसँग हात मिलाए, काँध  थापे भनौ या घाँटी जोडे।' खत्तम भएर, सक्किएर, खुइलिएर एमाले प्रवेश गरे भनियो भने त्यहाँ पनि गल्ती हुनेछ। क्रमभंग र छलाङको सिद्धान्त प्रचण्ड सिद्धान्त हो। उनी त्यो सिद्धान्तको प्रयोग त्यहाँ पनि गर्ने छन्।
प्रचण्ड अस्थिर मान्छे हुन्। अस्थिर व्यक्ति नयाँ नयाँ सोचमा रमाउँछ। नयाँ खोजमा निस्कन्छ।नयाँ आविष्कार पनि गर्न सक्छ। उनी माओवादी हुँदाहुँदै संसोधनवादसँग सम्बन्ध राखे। संसोधनवादको बाटो भएर पुजीवादको पनि पक्षपोषण गरिरहेका छन्। 'उनी बिहान किसान सभामा किसान वर्गको हित बारे भाषण गर्छन्। दिउँसो दलिय समझदारीको कुरा गर्छन् भने साँझ पर्दा पुजिपती बर्ग सँग चियर्स गरिरहेका हुन्छन् ।' उनी कहिले नास्तिक हुन्छन् कहिले आस्तिक बन्छन्। उनले झुपडी बिर्सेका छैनन्, महलप्रतिको मोह पनि छोडेका छैनन्।उकाली ओराली हुँदै सयौं घाटको पानी पिएका छन्। ढिंडो, रोटो खाएर गरिबहरुका गुनासा सुनेका छन्। बडे घरानाहरुसँग भव्य पार्टीमा सरिक भएर मस्त रमाउने प्रचण्ड विकट क्षेत्रका उत्पीडित बर्गको दुखमा भक्कानिएर रोएका पनि छन्। अगाडि पुगेर पछाडिको सबै बिर्सने अरु जस्ता उनी पटक्कै होइनन्। सबैको सँगतमा लाग्नु, सहकार्य गर्नु, चुनौती थप्नु र संभावनाको ढोका चाहार्नु उनको नियती नै हो। 'भत्काउन माहिर, बनाउन सिपालु, केही लहडी धेरै जिम्मेवार, कच्चा खेल अच्छा खेलाडी, कहिले दायाँ कहिले बायाँ।' हो यिनै कारणले उनी एक अनौठो पहेली जस्तै छन्।
बिश्वको कुनै पनि देशमा सर्वहारा सत्ता नरहेको बेला नेपालमा पनि सम्भव थिएन। सत्ता कब्जा गर्नु भन्दा सर्वहारा सत्ता टिकाउन गाह्रो हुन्थ्यो।लडेर जित्न नसकेको युद्द मिलेर पो जित्न सकिन्छ कि भन्ने अर्को एउटा प्रयोगतिर लागेका प्रचण्ड अझै केही बर्ष नेपाली राजनीतिको केन्द्रबिन्दुमा रहने छन्। उनी अत्यन्तै महत्वाकांक्षी व्यक्ति भएकाले नेपाली जनताका भावी सन्तानले समेत इतिहास पुरुष भनेर युगौंसम्म सम्झने गरि नाम लेखाएर जाने जमर्को अवस्य गर्ने छन्।