सरकारले बेरोजगारलाई २२ हजार ५ सय भत्ता दिने, पहिले काम नभए भत्ता

२०७५ फागुन ४ शनिवार
Newsdesk Shikharnews

काठमाडौं । सरकारले फागुन १ देखि लागू हुनेगरी बेरोजगारलाई भत्ता दिनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । सरकारले बेरोजगारलाई पहिले रोजगारका लागि काम दिनेछ । काम पनि दिन नसकेपछि बल्ल ५५ हजार ५ सय भत्ता दिनेछ ।

परिवारका कोही पनि रोजगारीमा नभएका व्यक्तिले मात्र भत्ता पाउनेछन् । बेरोजगार छन् भने त्यस्तो परिवारलाई एक सय दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ताका रुपमा दिने व्यवस्था गरिनेछ । प्रतिदिन ४४८ रुपैयाँका  दरले ५० दिनको भत्ता दिनेछ । मापदण्ड पूरा भएको खण्डमा सरकारले वर्षको २२ हजार ५ सय रुपैयाँ बेरोजगार निर्वाह भत्ता पाउनेछन् ।

रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवालाई न्यूनतम १ सय दिनको रोजगारी दिनेछ । परिवारको कुनै पनि सदस्यले न्युनतम रोजगारीसमेत पाएका छैनन् भने मात्र भत्ता दिनेछ । गाउँपालिका, नगरपालिकाले बेरोजगार छ छैन पहिचान गरी पहिले काम नसके मात्रै भत्ता दिनेछ ।

बेरोजगार भत्ता सजिलै भने पाइँदैन । सरकारले तोकेको मापदण्डभित्र पर्नुपर्नेछ । बेरोजगार भत्ता पाउन परिवारका सबै सदस्य बेरोजगार हुनुपर्छ । त्यस्तो खालको अवस्था नेपालीको पाउन मुश्किल छ । परिवारका एक न एक सदस्य कुनै न कुनै काममा संलग्न भएकै छन् ।

सबैका लागि रोजगार संवैधानिक अधिकार नारा सहितको रोजगार कार्यक्रमले १३ वटा क्षेत्रमा रोजगारी दिनेगरी कार्यक्रम ल्याइएको छ । ती सबै ठाउँमासमेत काम नपाएमा वर्षको ५० दिन बराबर भत्ता पाउनेछन् ।

संघ, प्रदेश र स्थानीयतहबीच सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ल्याएको हो ।

नेपालको संविधानको धारा ३३ मा मौलिक हकको रुपमा रोजगारीको हक राखिएको छ । त्यही रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्युनतम रोजागारको अवसर तयार पार्न सरकारले कार्यक्रम ल्याएको हो ।

आगामी पाँच वर्षभित्र वाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने सरकारको नीति छ । आन्तरिक रोजगारीको क्षेत्र र दायरा विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरण बनाउँदै राष्ट्रिय समृद्धिमा योगदान गर्ने कार्यक्रमको लक्ष्य छ ।