१६ वटा सञ्चारमाध्यम ‘अवज्ञाकारी’को सूचिमा

२०७५ फागुन ४ शनिवार
Newsdesk Shikharnews

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन गरी अटेर गर्ने १६ वटा सञ्चारमाध्यमलाई ‘अवज्ञाकारी’को सूचिमा राखेको छ । काउन्सिलमा एक वर्षमा पत्रकार आचारसंहिता उल्लंघनका ३ सय ९३ वटा घटना भएको जनाएको छ ।

आचारसंहिता अनुगमन उपसमितिको बैठकले काउन्सिलको पटक–पटकको मौखिक र लिखित आग्रहलाई अटेरी गर्ने १६ भन्दा बढी आमसञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको हो । अवज्ञाकारी सूचिमा गोरखापत्र दैनिकलाई समेत राखिएको छ ।

अवज्ञाकारीको सूचिमा परेका अन्नपूर्ण पोष्ट दैनिक, काठमाडौँ टुडे अनलाइनसहित तीन वटाले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै अवज्ञाकारीको सूचीबाट हटाउन निवेदन दिएपछि सूचीबाट हटाइएको छ । गोरखापत्र दैनिकले आचारसंहिता पालनामा प्रतिबद्धता जनाउँदै हालै पत्राचार गरेको बताइएको छ ।

गत २०७४ फागुनदेखि २०७५ माघसम्म १४९ उजुरी र काउन्सिलको स्वअनुगमनमा पत्रकार आचारसंहितासम्बन्धी २४४ घटना उल्लंघन गरिएको फेला पारेको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए । उल्लंघन गरिएकामध्ये उजुरीमा छापामाध्यम ६७ र विद्युतीय माध्यम ८२ तथा फेला पारेका घटनामध्ये १३ छापामाध्यम र २३१ विद्युतीयमाध्यम रहेका छन् । उल्लंघन गरिएका घटनामध्ये १९९ वटा फस्र्यौट गरिएको बताए ।

सूचना अधिकारी खनालले सम्बन्धित पक्षको खण्डन छाप्न निर्देशन दिने, क्षमायाचनासहित खण्डन प्रकाशन गर्न निर्देशन दिने, आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न सचेत गराउँदै आचारसंहिता पालना गर्न निर्देशन दिने बताए ।

काउन्सिलले त्यस्ता सञ्चारमाध्यमलाई वर्गीकरणका लागि प्राप्त हुने आचारसंहिताको अंक घटाउने, प्रेस पास निलम्वनका लागि सिफारिश गर्ने, लोक कल्याणकारी विज्ञापनवापतको रकम समय तोकी रोक्का राख्न सिफारिश गर्ने, दुवै पक्षलाई झिकाइ मेलमिलाप गराउने र काउन्सिलको आदेश नमान्नेलाई अवज्ञाकारीको सूचीमा राख्ने गर्दै आएको छ ।