सारेगमपमा आयुषको बेजोड प्रस्तुती, निर्णायकले भने जबरदस्त (भिडियो सहित)

२०७५ फागुन ६ सोमवार
Newsdesk Shikharnews

जी टिभीमा प्रशारण भइरहेको सारेगमप लिटिल च्याम्समा आयुष केसीले आइतबार दिएको प्रस्तुतीको निर्णायकहरुले खुलेर प्रशंसा गरेका छन् । १२ वर्षीय केसीले जिरो फिल्ममा रहेको अभय जोधपुरकारको मेरे नाम तु गीत गाएका थिए ।

आयुषले प्रस्तुती सकाए लगत्तै निर्णायकहरुले उनको स्वर र गायनकलाको तारिफ गर्दै जबरजस्त भने । ढाकाटोपी लगाएर गीत गाएका आयुषले निर्णायकमध्येकी एक ऋचा शर्मालाई पनि ढाका टोपी नै उपहार दिए ।

सिन्धुपाल्चोक घर भएका आयुष हाल भक्तपुर बस्छन् । १२ वर्षका आयुष कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘सुरशाला जुनियर आइडल’ को विजेता भइसकेका छन् । सानैबाट संगीतमा रुची राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेका थिए । उनले औपचारिक संगीत शिक्षा थालेको ५ वर्ष भइसकेको छ ।

आयुष झम्सिखेलको सुरशाला म्यूजिक एकेडेमीमा अमृत क्षेत्रीसँग संगीत सिकिरहेका छन् । भक्तपुर, दधिकोटको मोर्डन स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । जीटिभीले सार्वजनिक गरेको प्रोमामा उनको स्वर सुनेर निर्णयकहरु खुशी भएको देखाइएको छ ।

आइतबारको प्रस्तुतीबाट छनौट भई आयुष उत्कृष्ट १५ मा पुगेका छन् ।सारेगमपको यो सिजनमा गायक शान, ऋचा शर्मा र संंगीतकर्मी अमाल मलिक निर्णायक छन् ।

आयुषसँगै लिटिल च्याम्समा नेपालका अर्का बालक प्रितम आचार्य पनि सहभागि छन् । प्रितमले पनि आफुलाई उत्कृष्ट सावित गरिसकेका छन् ।

Loading...