काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन्। राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउँदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका हुन्।
उनले कंञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भइरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको जनाए। उनले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानूनी कठघरामा ल्याइएको बताए।
सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछा मूलभूत रुपमा नियन्त्रणमा आइसकेको भए पनि केही माछा अझै जाल बाहिर रहेको स्वीकार गरे। उनले भने, ‘केही ठूला माछाहरु अझै पनि जाल भन्दा बाहिर छन्। तिनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी छ।’
गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधरणलाई छिटै शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए। उनले यातायात क्षेत्रको सिण्डिकेट पनि कानूनी रुपमा अन्त्य भइसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिण्डिकेट पनि अन्त्य गर्दै लगिने बताए।
पूर्वराजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको गृहमन्त्रीथापाले बताए। सिंहदरबार प्रवेशलाई सहज बनाउन गृहमन्त्रालयले आवश्यक व्यवस्था मिलाउने काम गरिरहेको उनले जनाए। राष्ट्रियसभा सदस्यहरु बृषेशचन्द्र लाल, सरिता प्रसाई, कोमल ओली, अनिता देवकोटा, जितेन्द्र नारायण देव, रामपृत पासवान, राम नारायण विडारी, विन्दादेवी आले रानाले गृहमन्त्री थापालाई प्रश्न सोधेका थिए।
राष्ट्रियसभा सदस्य विडारीले बैठकमा निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि फौजदारी अपराध संहिता अन्र्तगत मुद्दा चलाउनका लागि माग गरिएको स्मरण गराउदै सो भयो कि भएन भनी प्रश्न गरेका थिए। जवाफमा गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान जारी रहेको भन्दै निष्कर्ष आएपछि थप कारवाही गरिने बताए।
लिटिल बुद्धको रुपमा रहेका रामबहादुर बमजमको बारेमा सरकारले गम्भीर रुपमा लिई छानविन गरिरहेको गृहमन्त्री थापाले जनाए।