काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय र कार्यदलको संयक्त बैठक स्थगित भएको छ। शुक्रबार बस्ने तय भएको बैठक स्थगित भएको हो। सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको म्याद थपलगायतका विषयमा छलफल गर्न बैठक बस्ने तय भएको थियो।
नेकपा सचिवालय र कार्यदलको संयुक्त बैठक बिहीबार पनि बसेको थियो। बिहीबारको बैठकमा कार्यदलका सदस्यले आफ्नो धारणा राखेका थिए।
बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले कार्यदल विघटन गर्न प्रस्ताव गरेपछि विवाद भएको थियो। ओलीलाई नेता ईश्वर पोखरेलले साथ दिएपनि अन्य सदस्यले भने कार्यदल विघटन हुन नहुने धारणा राखेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लामोसमय सम्म पनि कार्यदलले आफ्नो काम गर्न नसकेको लगायतका विषय उठाएर कार्यदल विघटन गर्न प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्री ओलीको प्रस्तावलाई ईश्वर पोखरेलले मात्र साथ दिएपछि उक्त प्रस्ताव पारित हुने अवस्था देखिएन। कार्यदलका सदस्यहरुले भने आफूहरुले काम गर्न नसकेको नभइ काम गर्न नदिइएको बताएका थिए।
गृहमन्त्री समेत रहेका थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी सििमत सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, बर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत ३ जेठमा एकीकरण भएको हो। एकता घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताले तीन महिनाभित्रै एकता टुंगो लगाउने बताएपनि नौ महिना बढी समय भइसक्दासमेत एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन्। अहिलेसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन्। बैठक शुक्रबार फेरि बस्ने नेता खनालले जानकारी दिए।
Leave a Reply