सामाजिक सञ्जाललाई व्यवस्थित गर्दै सरकार

२०७५ फागुन १० शुक्रवार
NewsDesk ShikharNews
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पूर्वाग्रहपुर्ण ढंग सूचना प्रविधि सम्बन्धी विधेयकको विरोध नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सूचना प्रविधिको सबैभन्दा बढी सदुपयोग गर्दै समग्र सूचना प्रविधिलाई व्यवस्थित पार्न विधेयक ल्याएको दाबी गरे। उनले संसार भरी नै साइबर बुलिङ गर्न नपाइने भन्दै सरकारले सामाजिक सञ्जाललाई नै प्रतिबन्ध लगाउने नियत अनुसार विधेयक नल्याएको बताए। 
स्वतन्त्रताको प्रयोग गर्दा मर्यादाको सिमा नाघ्न नहुने भन्दै उनले दम्भ र अधिनायकसँग जोडेर विधेयकलाई हेर्न नहुने बताए। उनले विधेयकको सन्र्दभमा तात्कालीन राजाको प्रसंग उठाइएकोमा असहमति जनाए। उनले सबै नेपालीको योगदानबाट अहिलेको अवस्था हासिल भएको उल्लेख गरे। 
उनले भने, ‘स्वतन्त्रताको स्वाद र त्यसको महत्वको निम्ति हामी आफै नेपाली जनताहरु संलग्न भएका हुन्। यो कसैको वेपत्ताको योगदान र कसैको वेमतलबको परिणाम लोकतान्त्रिक गणतन्त्र होइन। यो साझा सपनाको र संकल्पको एउटा ठोस उपलब्धि हो।’
सामाजिक सञ्जालमा बेलायत र अमेरिकामा पनि कडा सजायको व्यवस्था रहेको भन्दै उनले पूर्वाग्रहपूर्ण ढंगले विधेयकलाई नहेर्न आग्रह गरे। साइबर सुरक्षाको विषय राष्ट्रिय सुरक्षाको विषय भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ व्यवस्थित गर्न स्पष्ट ऐन बनाउन खोजेको उनले जनाए। विचार व्यक्त गर्नु र गाली गर्नु फरक विषय भएको भन्दै उनले सत्ता माथिको नियन्त्रणको हिसाबमा विधेयकलाई नबुझ्न आग्रह गरे।