किन ओझेलमा : मनमोहक कालिञ्चोकको ‘स्की’ कथा (तस्विरसहित)

२०७५ फागुन १४ मंगलवार
Newsdesk Shikharnews

– सुभक महतो
काठमाडौं । हिउँमा निकै रमाइलोसँग खेलिने साहसिक खेल । जसको नाम हो ‘स्की’ । तपाईंले पनि हेर्नुभएको होला, तीव्र गतिमा हिउँमा चिप्लिएर रोमाञ्चित बनेर खेलेको । कतिपयले खेल्ने अवसर पाउनुभएको होला । विश्वभरिका मानिस रमाउने यो खेलको संभावना नेपालमा निकै धेरै छ । तर, बिडम्बना यसलाई खेलको रुपमा जग बसाउने र पर्यटक तान्ने संभावनालाई नेपालले उपयोग गर्न सकेको छैन ।

स्की…
यो देलखा जिल्लाको कालिञ्चोक ।
यो ठाउँ समुन्द्री सतहबाट झण्डै २८ सय मिटरको उचाई पर्छ ।
र केही दिनको हिमपातपछि कालिञ्चोक क्षेत्र हिउँ परेको बेला यस्तो सुन्दर देखिन्छ । र यो कुरी बजार, जुन हिउँले नै छोपिएको छ ।
यही कुरी बजारबाट माथि कालिञ्चोक भगवतीको मन्दिर पर्छ ।
केही दिन अघि हामी यही मन्दिरको दर्शन गर्न पुग्दा कालिञ्चोक क्षेत्रमा संभवत पहिलो पटक स्की खेलिरहेका देखिए । त्यसपछि हामी उनीहरु भएको ठाउँमा पुग्दा दर्जन भन्दा बढीको संख्यामा स्की खेल्नका लागि काठमाडौंबाट यहाँ आएको जानकारी पायौं । उनीहरुलाई हामीले स्कीको बारेमा सोध्दा, भन्दै थिए, पहिलो पटक स्की खेल्नका लागि यहाँ आएको हो । धेरै रमाइलो भइरहेको छ, त्यो शब्दमा बयान गर्न सकिन्न ।

त्यही समुहमा केही महिलाहरु स्की खेल्नका लागि आएका थिए । उनीहरु भन्दै थिए । काठमाडौंसँग नजिकैमा यति राम्रो स्की खेल्ने ठाउँ रहेको छ । यसलाई विकास गरेको खण्डमा पर्याप्त मात्रामा पर्यटक हामी भित्र्याउन सक्छौं ।

उनीहरुले थपे स्की खेल्न यहाँ धेरै मज्जा आएको छ । हाम्रो पहिलो लेवलको भएका कारण केही समस्या भएको हो । तर पनि रमाइलो छ ।

अझै कतिले भन्दै थिए, आफ्नो घर दोलखा जिल्ला भएपछि यस ठाउँमा स्की खेल्न सकिन्छ भनेर थाहा थिएन । तर, अहिले थाहा भयो, कालिञ्चोक क्षेत्रमा मज्जासँग स्की खेल्न सकिन्छ, अब यो ठाउँलाई सरकारले संरक्षण गर्नुपर्छ ।

यसरी राजधानी काठमाडौंबाट एक दिनको दुरीमा रहेको कालिञ्चोक क्षेत्रमा स्की खेल्न सक्ने संभावना रहेको छ । त्यसकारण सरकारले पनि यस्ता क्षेत्रहरु पहिचान गरी नेपालमा पनि व्यवसायीक रुपमा स्की खेलको शुभ आरम्भ गरियोस् भनिरहेका छन् यहाँ आइपुगेकाहरु ।
आवश्यक पूर्वाधारको विकास र विस्तार गर्न सके नेपालमा स्की खेलको सम्भावना निकै राम्रो छ । त्यसो गर्न सके, यही साहसिक खेलका लागि धेरै पर्यटक नेपाल आउँछन्, आन्तरिक पर्यटकले पनि मौका पाउँछन् र त्यससंगै पर्यटन व्यवसाय र समग्र देशको अर्थतन्त्रमा समेत टेवा पुग्छ । तर, त्यसको लागि आवश्यक पहल हुन सकिरहेको छैन ।

हिमालयको देश नेपाल । यहाँ कतिपय यस्ता ठाउँ छन्, जहाँ हिउँले सुनमा सुगन्ध थपिरहेको हुन्छ । ती ठाउँहरुमा पुग्ने मात्रै होइन, त्यहाँको हिउँमा चिप्लने र स्की खेलेर रमाउन सक्ने संभावन कति छ कति । स्कीका लागि विश्वकै उपयुक्त ठाउँमध्ये नेपाल पनि हो । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश नेपालको पहिचानै हिमाल । त्यसैले अझ बढी संभावना देख्छन् विज्ञहरु । र, ढिलै भए पनि यसको संभाव्यता अध्ययन तथा त्यस्ता ठाउँहरु पहिचान गर्ने प्रयास भएको छ ।

संभावनाको खोजी
स्की अर्थात् हिउँमाथि चिप्लिएर खेल्ने खेल । यसका प्रकारहरु अनेक छन् ।
हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा स्की खेलको विकास नभएपछि पछिल्लो समय यसको सम्भावना खोज्न सुरु गरिएको छ । वर्षौंदेखि उच्च खानदानका अर्थात हैसियत भएका नेपालीले युरोपमा गएर स्की खेल्न सुरुवात गरेका थिए । हाल स्की खेलको विकास गर्न यहाँ पनि मुक्तिनाथ, खप्तड, सगरमाथा क्षेत्रमा सम्भावना देखिएको छ । गोसाइकुण्ड, अन्नपूर्ण हिमालको बेसक्याम्स आसपास, दोलखाको सैलुङ हिमाल र कालिञ्चोक, ढोरपाटनमा पनि स्कीको सम्भावित क्षेत्र रहेको छ ।

संसारका धेरै मुलुकहरुमा स्की लेख्न लाखौं लाख मानिस वर्षेनी पुग्छन्् । विश्वका कति देशमा स्की खेल्नका लागि कृत्रिम हिउँ राखेर समेत खेलाउँछन् । तर, हिमालै हिमालको मुलुक भएर पनि नेपालमा किन स्कीको व्यवसायिक सुरुवात भएको छैन ? यी र यस्ता प्रश्नको उत्तर लिएर हामी पर्यटन विभाग अन्तर्गत रहेको नेपाल माउण्टेन एकेडमी पुग्यौं त्यहाँका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीलाई भेट्यौं त्यहाँ । उनी हामीसँग भन्दै थिए, नेपाल स्कीका लागि खानी भएको मुलुक हो । हामी अब अध्ययन सुरु गरेका छौं ।

स्की माउन्टेनियरिङ संसारमै प्रसिद्ध पर्यटकीय गतिविधि मानिन्छ । अनि नेपाल स्कीका लागि सम्भावित मुलुक हो । हाइअल्च्यिुट स्की अनौपचारिक रूपमा विभिन्न हिमालहरूमा सञ्चालन भइरहे पनि व्यवस्थित हुन सकिरहेको छैन । युरोपमा भित्रिने अधिकांश पर्यटकहरू स्कीबाट आउने गरेको तथ्यांकहरूले देखाउँछ । नेपालको हाइअल्टिच्युट स्कीको प्रचारप्रसार गर्न सकेमा संसारलाई पर्वतीय पर्यटनमा अर्काे आकर्षण दिन सक्ने संभावना छ ।

पछिल्लो समय स्कीप्रति युवाको आकर्षण बढ्दै गएकाले यो वर्ष गोसाइकुण्ड, अन्नपूर्ण बेसक्याम्प, मुस्ताङ दोलखा लगायता क्षेत्रमा स्की तालिम सम्पन्न भएको छ । बालबालिकादेखि वृद्धसम्मले मन पराउने स्की विकास आवश्यक रहेका बताउछन् स्कीका प्रशिक्षक छिरिङ जाङबो शेर्पा ।
साथै उनले नेपालमा स्की धेरै महंगो भएको कारणले गर्दा यसलाई सरकारले संशोधन गर्नुपर्ने प्रतिक्रिया दिए । सरकारले स्कीका लागि छुटै ग्राउण्ड बनाउनुपर्ने र यसका बारेमा विस्तृत अध्ययन हुनुपर्ने बताउछन् उनी ।

हो, अब यहाँ स्कीको संभावनाको खोजी हुनैपर्छ । त्यस्तो भएको खण्डमा ८ हजार मिटरसम्मका हिमालमा स्की खेल्नका लागि विश्व भरबाट आउने पर्यटकको संख्यामा पनि बृद्धि हुनेछ । त्यति मात्रै नभएर नेपालीमा स्की खेल्ने बानीको विकास हुनेछ । जसले गर्दा आन्तरिक पर्यटनमा पनि ठूलो टेवा पुग्नेछ ।

धेरै हिउँ पर्ने विश्वका कयौं देशमा स्की खेल निकै फस्टाएको छ । मानिसहरु सुरक्षित रुपमा हिउँमा चिप्लिएर रमाउन निकै लालायित देखिन्छन् । कयौं ठाउँमा स्की र यस्तै कला सिकाउने स्कुल संचालनमा छन् । तर, नेपालमा अझै पनि संभावनालाई सार्थक बनाउने प्रयासको सुरुवात हुन सकेको छैन । चर्चा यसकारण गरिरहेका छौं कि, संभावना निकै राम्रो छ नेपालमा । संभावना अनुसारको काम भैरहेको छैन । पछिल्लो समय बहस सुरु भएको छ । कतिपय यसलाई स्थापित गर्नुपर्छ भन्ने अभियान थालेका छन् । अभियानलाई टुंगोमा पु¥याएर पर्यटनमा टेवा पु-याउन हरसम्भव प्रयासको खाँचो छ ।

किन ढिलो ?
नेपालमा स्की खेलको विकास नभए पनि पछिल्लो समय यसका सम्भावना खोज्ने क्रम सुरु भएको छ । यससँगै कति ठाउँमा नेपाल माउण्टेन एकेडमीले स्की खेल्नका लागि प्रशिक्षण समेत दिरहेको छ । नेपालको स्कीले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन सकेको छैन । आखिर किन यस्तो भइरहेको छ हिमालै हिमालको धनी मुलुकमा ? पछिल्ला तीन÷चार वर्ष यता नेपालमा स्की सम्बन्धी काम भने नभएको होइन । तर, जसरी हुनुपर्ने थियो अनुपातमा भएको छैन । त्यहीभएर हामी यसको अधिकारिक जवाफ खोज्न पर्यटन विभाग पुग्यौं । त्यहाँका महानिर्देशक डण्डुराज घिमिरेलाई भेट्यौं । उनी भन्दै थिए, स्कीका लागि पहिला संभावित ठाउँ हुनुपर्छ, त्यो पत्ता लगाउनका लागि हामी काम गर्दैछौं ।

स्की खेल्नैका लागि नेपालमा सुरुवात नभए पनि विदेशी हिमाल चढ्न आउँदा त्यसमै स्विकृति लिएर खेलेको र नेपालमा स्कीका प्रशिक्षक नभएका कारण पछिल्लो समय त्यसका प्रशिक्षक उत्पादन गर्ने काम भइरहेको जानकारी दिए महानिर्देशक घिमिरेले । अर्को कुरा स्कीलाई व्यवसायिक विकासका लागि अहिले केहीे बाधा छन् । त्यो फुकाउने प्रयास भइरहेको छ ।
अझै उनी भन्दै थिए । नेपालमा पर्यटक ल्याउने हो भने स्कीको विकास गर्नैपर्छ । पर्यटन वर्ष २०२० मा स्की खेल्नका लागि ल्याउन गाह्रो छ । तर यसको विकास भएको खण्डमा ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने उनी बताउँछन् ।

हो, स्की खेल्नका लागि कानुनी जे अड्चन छन् । त्यसमा पुर्नविचार गर्नुपर्छ सरकारले । अर्कोतर्फ विदेशी र स्वदेशी स्की खेलाडीलाई लिने एउटै शुल्क संशोधन गर्नुपर्छ । अनि मात्रै समग्र स्कीको विकास हुनेछ । जसका लागि सरकारले ढिलाइ गर्नु हुन्न ।

केही भएन भन्दाभन्दै पछिल्लोपटक स्कीको संभावना र त्यसका लागि कतिपय ठाउँहरुको पहिचान गर्ने जुन क्रम सुरु भएको छ, यसले थोरै भए पनि आशा पलाएको छ । हुन त संभावना भएर व्यवहारमा केही गर्न नसकिएका थुप्रै क्षेत्र छन् नेपालमा । विकासका अरु पूर्वाधार बनाएजस्तो करोडौं, अर्बौं खर्च नगरिकनै हिमाल र हिउँमा आधारित गतिविधि संचालन गर्न सकिन्छ । भारतको उत्तराखण्ड, हिमाञ्चल, काश्मिर, पाकिस्तान, अफगानिस्तान, काजकिस्तान लगायतका देशमा हिउँमा खेल्न सिकाउने स्कुल संचालनमा छन् । जसबाट उनीहरुले राम्र्रो आम्दानी गरिरहेका छन् । नेपालले केही सिक्न सक्नुपर्छ । र, यो संभावनालाई व्यवहारिक बनाउन आवश्यक पहल गर्नुपर्छ ।

Loading...