भरतमोहन अधिकारी : पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा

२०७५ फागुन १८ शनिवार
Newsdesk Shikharnews

शनिबार ८२ वर्षको उमेरमा निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी नेपाली राजनीतिका त्यागी नेताका रुपमा परिचित छन् । पाँचपटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारीको जन्म वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरापुरामा भएको थियो । उनका श्रीमती ओमकुमारी र २ छोरी छन् ।

अधिकारी अर्थमन्त्री हुँदा तत्कालिन एमाले सरकारले अघि सारेको आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम तथा वृद्धभत्ता र सुत्केरी खर्च अत्यन्तै लोकप्रिय बनेको थियो । अधिकारीकै योजनामा आएका यी कार्यक्रम अहिले पनि नेकपाका लागि चुनावी हतियार बनिरहेका छन् ।

कानुन र अर्थराजनीतिका विज्ञ अधिकारीले अर्थशास्त्रमा एमए र कानुनमा बीएलसम्मको औपचारिक अध्ययन गरेका थिए । विराटनगरलाई कार्यक्षेत्र बनाएका अधिकारी पञ्चायतकालका चर्चित कानुन व्यवसायीसमेत हुन् । वि.सं. २०१७ सालमा पीएचडी गर्ने तयारी गरिरहेका अधिकारीले तत्कालिन सोभियता सरकारबाट छात्रवृत्ति पनि पाएका थिए । तर उनले त्यतिबेला सोभियत सरकारको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्धको संघर्षमा आफुलाई समाहित गराए ।

कुशल अर्थमन्त्रीको रुपमा स्थापित अधिकारीले चार वर्ष भूमिगत, तीन वर्ष निर्वासन र तीन वर्ष बन्दी जीवन व्यतित गरे । वि.सं. २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा उनी ८१ दिन नजरबन्दमा थिए । अध्ययनशील मानिने नेता अधिकारीले नेपालमा औद्योगीकरणका समस्या, मेरो जीवन यात्रालगायत कृति प्रकाशित गरेका छन् । जीवन यात्राको नयाँँ भाग पुस्तक भने प्रकाशन नहुँदै अधिकारी सदाका लागि बिदा भएका छन् ।

अधिकारीको राजनीतिक यात्रा

वि.सं. २००८ सालमा राजनीतिमा आवद्ध भएका अधिकारीले तत्कालीन एमालेको नवौं महाधिवेशनमा लिखित रुपमै पार्टीको कुनै पनि नेतृत्वदायी कमिटीमा नबस्ने घोषणा गरेका थिए । अधिकारी १६ वर्षको उमेरमा बनारबाट भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा आवद्ध भएका व्यक्ति हुन् ।

पञ्चायतविरुद्ध लामो सघर्ष गरेका अधिकारी २०४७ सालको संविधान लेखन समितिका सदस्य हुन् । वाममोर्चाको तर्फबाट माधवकुमार नेपाल निर्मल लामासँगै अधिकारी संविधान लेख्ने आयोगका सदस्य बनेका थिए । ०४७ सालको संविधान लेखनमा उनको भूमिकालाई महत्वकासाथ हेरिन्छ । त्यसपछि माले र माक्र्सवादी एकता भएर नेकपा एमाले बन्दा अधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०४९ सालमा एमालेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले ल्याएको ‘जनताको बहुदलीय जनवाद’ कार्यक्रम निर्माणमा अधिकारीको महत्वपूर्ण योगदान रहेको थियो । यो कुरालाई उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

२०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्दा उनी मनमोहन अधिकारी नेतृत्वमा बनेको एकल सरकारमा अर्थमन्त्री भए । नौ महिना मन्त्री हुँदा उनले दुईवटा बजेट पेश गरेका थिए । अधिकारीले महेश आचार्यले पेश गरेको बजेटलाई परिमार्जन गरेर पुसमा पहिलो कम्युनिस्ट बजेट पेश गरेका थिए । उनले ०५२ असारमा अध्यायदेशमार्फत् पूर्ण बजेट पेश गरेका थिए । यो बजेमा अधिकारीले अगाडि सारेका आफ्नो गाउँ आफै बनाऔं, वृद्धा भत्ता, सामाजिक सुरक्षा लगायतका नाराले लोकप्रियता पाएका थिए ।

अर्थमन्त्रीदेखि कार्यवाहक प्रधानमन्त्री

२०४७ सालमा संविधान आयोगका सदस्य भएका अधिकारी २०४८ पछि चार पटक सांसद निर्वाचित भए । पाँच पटक विभिन्न मन्त्रालय सम्हालेका अधिकारी उपप्रधानमन्त्री हुँदै कार्यवाहक प्रधानमन्त्रीसम्म भए । पाँच पटक मन्त्रालय सम्हाल्दा उनी ४ पटक त अर्थमन्त्री नै बने ।

२०६१ साल असार २१ गते उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउँदा अधिकारीले सात दिनमै बजेट तयार पार्ने जिम्मेवारी पाएका थिए । अधिकारी २०६७ साल माघ २७ गते उपप्रधानमन्त्री बने । प्रधानमन्त्री झलनाथ खनालले अर्थ मन्त्रालय हेर्ने जिम्मा समेत अधिकारीलाई नै दिएका थिए ।

७० वर्ष पुगेपछि पार्टीको सक्रिय जिम्मेवारीबाट अवकाश लिने नीति अनुरुप तत्कालिन नेकपाको नवौँ महाधिवेसनबाट उनले पार्टीको जिम्मेवारीबाट अवकाश लिएका थिए । उनको यो कदमले उनलाई त्यागी नेताको रुपमा स्थापित गराएको थियो ।