कोहलीको शतकसँगै अष्ट्रेलिया पराजित
काठमाडौं २२,फागुन।अष्ट्रेलियासँगको दोस्रो एकदिवसिय खेलमा घरेलु टोली भारतले रोमान्चक जित निकालेको छ । मंगलबार रातीको खेलमा भारत ८ रनले विजयी भएको छ ।
२५१ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलिया ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो ।अष्ट्रेलियाका मार्कस स्टोइनिसले ५२, पिटर हृयाण्ड्स्कम्बले ४८, उस्मान खवाजाले ३८ र कप्तान एरोन फिन्चले ३७ रन बनाए।
त्यसअघि नागपुरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले कप्तान विराट कोहलीको शतकमा ४८.२ ओभरमा अल आउट हुँदै २ सय ५० रनमा समेटिएको थियो । करियरको ४० औं वानडे शतक प्रहार गरेका कोहलीले १ सय १६ रन बनाए । वान डे क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने कोहली दोस्रो खेलाडी बनेका छन् । पहिलो स्थानमा भारतीय पुर्व कप्तान सचिन तेन्दुलकरले ४९ शतक प्रहार गरेको रेकर्ड छ । कोहलीले १ सय २० बलमा १० चौका प्रहार गरे ।