कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत

२०७५ फागुन २८ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास र समृद्धिमा अघि बढ्ने क्रममा कहिँ कसैलाई कमिशन खुवाउनु नपर्ने बताएका छन् । गुणस्तरीय काम गर्नेलाई कसैले कमिशन मागे खबर गर्न आग्रह गर्दै भेटेमा कमिशनखोरीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुण्डुमा निर्वाचन क्षेत्र विकास कोष तथा सूर्यविनायक नगरपालिकाको साझेदारीमा फुटसल ग्राउण्डको शिलान्यास गर्दै विकासमा भक्तपुरको मुहार फेरिरहेको बताए ।

आफूले चुनाव जितेपछि भक्तपुरमा बाटो नभएको ठाउँमा बाटो बनेको, कच्ची बाटो भएको ठाउँमा ग्राभेल, पिच बाटो बनेको दाबी गरे । गरे केही असम्भव छैन भन्दै सांसद बस्नेतले पूर्वाधार विकास कोष अन्तर्गत करिब २० वटा काम अघि बढेको जानकारी दिए । सांसद विकास कोष र पूर्वाधार कोष तथा सूर्यविनायक नगरपालिकाको साझेदारीमा ८ वटा काम भएका छन् ।

शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार लगायतका काम भैरहको बताए । यसवर्ष सडक निर्माणको लागि मात्र करिब तीन अर्ब रुपैयाँ ल्याउन सफल भएको बताए ।

यसवर्ष भक्तपुरमा २० किमी भन्दा बढी सडक पिच हुँदै गरेको र हनुमन्ते नदीमा ६ किमी कोरिडोर निर्माण प्रक्रियामा रहेको बताए ।