कमरेड प्रचण्डलाई आक्रोश मिश्रित खुला पत्र

२०७५ चैत ३ आइतवार
Newsdesk Shikharnews

कुनै एक युगका युग नायक जसले कलिलै उमेरमा जनताको बर्गिय समानताको लागि जनयुद्धको शंखघोष मात्र गरेन बर्तमान राज्यसत्ताबाट पिछडिएका , हेपिएका , गरिबिको रेखामुनि आश्रित , विभेद र असमनताको जन्जिरभित्र कष्टकर जीवन गुजार्न बाध्य जनताहरुलाई गोलबन्द गर्दै गाउँबाट शहर केन्द्रित आन्दोलनको आधिबेरी ल्यायो । दुरदराजमा अत्यन्तै कष्टकर जीवन भोगिरहेका मानिसहरु माओवादीले बाँडेका सपना र आश्वासनले सजिलै माओवादी आन्दोलनमा हातेमालो गर्दै मर्न र मार्न तयार भए ।

माओवादी आन्दोलनले जनताको राजनैतिक चेतनाको मात्र बिकास गरेन साथसाथै आफ्नो अधिकारको लागि जुनसुकै त्याग र बलिदान गर्न पनि प्रेरित गर्यो । कयौं युबायुबतीहरु कलम र कापी च्यातेर बन्दुक समाउन पुगे कतिले जागीर , परिवार र आफन्त त्यागेर बिचार र बन्दुक चलाउन पुगे ।नेतृत्वले देखाएको हिम्मत र सपनाहरूले लाखौं जनताहरु राज्यको दमन ,धरपकड र मृत्युको प्रवाह नगरी नेतृत्वले सिकाएकोर घोकाएको बर्गीय युद्दमा एकाकार भए । कैयौं सहादत भए । । कैयौंको कोख रित्तियो । कसैको सहारा चुडियो । कोहि अपांग भए । धेरैको परिवार भत्कियो । भाईचारा टुट्यो । साँच्चै नेतृत्वले देखाएका सपनाहरूको पहाड कति मनमोहक र गुलियो थियो ।

तर जनताको त्यो निस्वार्थ साहस ,त्याग, बलिदानी र क्षतिले सिर्जित बाह्र बुदे सहमति हुँदै देशमा संविधानसभा र गणतन्त्रसम्म आईपुग्दा पक्कै पनि राजनैतिक ब्यबस्था परिवर्तन भयो । महिला , जनजाति , दलित एबम पिछडिएका समुदायले केही हिस्सा अधिकार र समाबेशिता त पाए तर समग्रतामा गणतन्त्र आएको १०(११ बर्षमा जनताको जिवनस्तरमा के कति सुधार भयो ?? के रेमिटान्सले बनेका केही नयाँ घर, हातमा खेलाईएका केही थान मोबाइल , घरका भित्तामा लागेका टिभी र बाटोमा गुडेका केही जोर मोटरसाइकल नै गणतन्त्रको प्राप्ति हो त ? के यसलाई गणतन्त्रको सफलताको मापन मान्न सकिएला ? के प्रचण्ड , उनको परिवार , केही दर्जन नेता र उनिहरुको आसेपासेहरुको जीवन बदलिनु र सप्पन्न हुनुलाइ नै गणतन्त्रको सफलता मान्न सकिएला ??

प्रचण्ड कमरेड, एक पटक युद्धमा आफ्नो परिवार गुमाएका, अझै पनि शरीरमा छर्रा बोकेर बाँचिरहेका, घाइते, अपांग र तपाईंले देखाएको सपनालाई सिरानी हालेर सुत्ने गरिबको घरघरमा पुग्न सक्यौ भने मात्र तिम्रो महानता मानिनेछ । तरकारी बारीमा डोजर चलाउने किसानको घरमा राहत बनेर पुग्यौं भने मात्र तिमीले लडेर ल्याएको गणतन्त्र सफल भएको मानिनेछ । दिन रात साहुको हलो जोतेर पनि दुई छाक खान नपुग्ने हलिको घरमा गाँस पुर्याउन सक्यौ भने मात्र हजारौं सहिदहरुको बलिदानको जित हुनेछ ।

तिम्रो एउटा कासनमा तिम्रो सुरक्षार्थ ढाल बनेर बन्दुकको गोलि छातीमा थाप्न लालायित लाखौं बिदेशिएका युबाहरुलाई स्वदेशमा नै फर्काउन सक्यौं भने मात्र प्रचण्ड सफल भएको ठानिनेछ । गाँस र बासको अभावमा खुला आकाशलाई आफ्नो छानो र मानो बनाएका हजारौं जनतालाई एक झर्को ओत लाग्ने बासको ब्यबस्था गर्न सक्यौ भने मात्र तिमीले जुगाको रेखी मुसार्दै गर्व गर्न पाउनेछौ ।

नत्र आफू , आफ्नो परिवार र केही दुर्गाबहादुर वा शारदाबहादुरहरुको जीवन समृद्ध हुदैमा न देश समृद्ध हुनेछ न त बैरी ले हानेको गोलि जनताले आफ्नो छातीमा थाप्नेछन । अझैपनी समय छ कमरेड , आफ्ना दुई नातीहरुलाई सामान्य जीवन ज्युन पुग्ने बाहेक बाँकी सम्पत्ति जनतालाई फिर्ता गर्न सक्यौ भने न तातो पानीमा डुबुल्की पार्नु पर्ला न त सुकुटेतिरको कृत्रिम हावाको बेग्रतामा दौडिनु पर्नेछ ।

कमरेड, राजनैतिक परिबर्तनसंगै देशको आर्थिक, सामाजिक र साँस्कृतिक परिबर्तन गर्न सक्यौ भने अवस्य पनि तिम्रो सुरक्षा ५९ जनाको बटालियनले हैन जनताले नै गर्नेछन् । बैरिको गोलि वा निसाना कहिल्यै तिम्रो छातीसम्म आईपुग्ने छैन । न त कसैले चार घन्टाको कार्यक्रम नै बनाएर तिम्रो मृत्युको आराधना गरोस तिमी युगौयुग बाँच्नेछौ । आजसम्म आफ्नो र आफ्नाहरुका निम्ति बाँच्यौ अब बाँकी जीवन देश र जनताका लागि बाँच्नु तब मात्र तिमी सुरक्षीत महसुस गर्नेछौ । नत्र मृत्युको भयले तिमी दिनरात तड्पिरहनु पर्नेछ ।

जय देश ।।।

एक नारायण पौडेल
भमनपा वाड न १३ चितवन ।