नेपालमा शान्ति चाहियो कि चाहिएन ?

२०७५ चैत ३ आइतवार
Newsdesk shikharnews

काठमाडौं, ३ चैत्र । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए ।

उनले भने,‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन, प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जनाए ।

विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीरले नेताहरुलाई आग्रह गरे । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,’ ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए । उनको प्रश्न थियो, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’