बाटो हिंड्दा स्यालले टोकेर हैरान

२०७५ चैत १२ मंगलवार
Newsdesk Shikharnews

बझाङ । बझाङको बुंगलमा स्यालले स्थानीयलाई हैरान पार्न थालेका छन् । स्यालले स्थानीय ११ जनालाई टोकेर घाइते बनाएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला बुंगल नगरपालिका जल्जली, दासापामा स्यालले ७ जनालाई टोकेर घाइते बनाएको थियो । घाइतेको उपचार जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ ।

यसअघि स्यालको टोकाइबाट सोही ठाउँमा घाइते भएकी सुना ऐडीको अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ भने बौलाहा कुकुरको टोकाइबाट दुई बालबालिका घाइते भएका छन् । घाइतेमध्ये एकको मुखमा टोकेकाले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर सिफारिश गरिएको जिल्ला अस्पताल सिमखेतले जनाएको छ । स्यालले पशुचौपायालाई पनि टोक्ने गरेको छ ।

बुङ्गल नगरपालिकामै दुई बाख्रा, दुई गाई र एक भैँसीलाई स्यालले टोकेको छ । एक महीनाअघि बुङ्गल नपा–६ झापामा स्यालकै टोकाइबाट चार घाइते भएका थिए । करीब एक महीनादेखि स्याल र बौलाहा कुकुरको आतङ्क बढेपछि बालबालिकालाई एक्लै विद्यालय पठाउन र आफूलाई समेत जान डर लाग्ने गरेको बुङ्गल नगरपालिका–५ का स्थानीय वीरबहादुर भण्डारीले बताउनुभयो ।

Loading...