यसरी मनाए रंगकर्मीले विश्व रंगमञ्च दिवस

२०७५ चैत १४ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं । विश्व रंगमञ्च दिवस नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल कीर्तिपुरमा संक्षिप्त कार्यक्रम र चियापान गरी मनाएको छ ।

महोत्सव आयोजक सात संस्था एक्टर्स स्टुडियो, कथा घेरा, मण्डला थिएटर, वन वल्र्ड थिएटर, शिल्पी थिएटर, थिएटर मल र थिएटर भिलेजले दिवस मनाएका हुन् । रंगकर्मी, कलाकर्मीको जमघटमाझ छोटो नाट्य प्रस्तुतिका र विश्व दिवसको सन्देश वाचन गर्दै दिवस मनाइएको हो ।
मार्च २७ मा विश्वभर रंगमञ्च दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा सबिर चुरौटे र सञ्जिता पराजुलीले तयार पारेको नाट्य प्रस्तुति ‘फादर करिअरः एन एक्सपेरिमेन्ट’बाट सुरु भएको कार्यक्रममा नाट्य महोत्सको संक्षिप्त समिक्षा भयो ।

प्रमुख अतिथि संस्कृति तथा पर्यटन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले रंगमञ्चसम्बन्धी सरकारी निकाय भएपनि उल्लेखनीय कामहरु हुन नसकेको स्वीकार्दै आगामी दिनमा नेपाली रंगमञ्चबारे योजना तय गर्न छलफल गर्न तयार रहेको बताए ।

कवि विप्लव प्रतीकले नेपाली रंगमञ्चको एकताको विम्वको रुपमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सफल रुपमा सम्पन्न भएको उल्लेख गरे । त्यस्तै सन् १९६५ पछि विश्व रंगमञ्च दिवस मनाउन थालिएको विश्व परिप्रेक्षमा बोल्दै डा. अभि सुवेदीले वर्तमान नेपाली रंगमञ्चलाई युवा पुस्ताले सक्रिय बनाइरहेको उल्लेख गरे ।

महोत्सव निर्देशक राजन खतिवडाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्दै विश्व रंगमञ्च दिवस समेत एकवद्ध भई मनाउन पाउनु हाम्रो सुन्दर समय रहेको बताए । त्यसैगरी रंगकर्मी सरिता गिरीले विश्व रंगमञ्च दिवसको सन्दर्भमा आएको विश्व सन्देश वाचन गरेकी थिइन् । यस वर्ष क्युवाका रंगकर्मी कार्लोस सेल्ड्रानले विश्व सन्देश प्रेषित गरेका थिए ।

यसै क्रममा मार्च २० मा मनाइने विश्व बाल रंगमञ्च दिवसलाई पनि जोड्दै यही कार्यक्रम अन्तर्गत जोड्दै नेपालमा बाल रंगमञ्चबारे संक्षिप्त चर्चा गर्दै रंगकर्मी सञ्जिता पराजुलीले भारतकी ८ वर्षीय कलाकारले प्रेशित गरेको विश्व सन्देश वाचन गरेकी थिइन् ।

कार्यक्रममा रंगकर्मी केदार श्रेष्ठले नाटकघर खोलेकै महिना कीर्तिपुर रंगमञ्चमा विश्व रंगमञ्च दिवस पाउनु सुखद रहेको बताए । रंगकर्मी आकांक्षा कार्कीले उद्घोषणको क्रममा रंगमञ्च दिवसलाई आफ्नो जन्मदिन जस्तो लाग्ने बताइन् ।

कीर्तिपुरस्थित राराहिल मेमोरियल स्कुलको सहकार्यमा गत महिना नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५ ले थिएटर मल, कीर्तिपुर रंगमञ्चको उद्घाटन गरेको थियो ।

तस्वीर सौजन्यः प्रशुन सिन्धुलीय, थिएटर मल