प्रधानमन्त्रीले बुबा र सासुलाई चेक दिंदै भने, ‘बृद्धभत्ता बढ्छ, यो सरकार बूढाबूढीको भलो चिताउँछ’

२०७६ वैशाख २ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बूढाबूढीको भलो चिताउने सरकार भएको बताए ।

“यो बुढाबुढीको भलो चिताउने सरकार हो” प्रधानमन्त्री ओलीले भने, “यसपालिको बजेटमा बृद्ध भत्ता बढ्छ । ढुक्क भए हुन्छ ।” प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालीन एमालेको सरकारले वृद्ध भत्तावितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए ।

“पहिलापहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाँचिएलार भन्थे । यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।”

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताएका छन् । त्यस्तो अवस्थामा असाहयको सहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने बताएका छन् । “हामी नेपाललाई केहीवर्ष भित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउदैछौं” प्रधानमन्त्री ओलीले भने, “यसका लागि हाम्रो खानपानलाई विषादीरहित बनाउनु पर्छ ।”

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकलाई कार्यक्रममा स्वास्थ्य बीमा कार्ड वितरण गरे । कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोले । उनीहरुलाई प्रधानमन्त्रले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गरेका थिए ।