पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना

२०७६ वैशाख २ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना दिएका छन् । पूर्वको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातिले मनाउने सिरुवा पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षको रुपमा मनाइने सिरुवापर्व तीनदिनसम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर कादो सिरुवा मनाउने गरिन्छ । तेस्रो दिनआपसमा रङ दलेर सिरुवा मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात कादो सिरुवा लोकप्रिय मानिन्छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरे ।
“नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश हो । यस देशमा बसोबास गर्ने विविध जातिले मनाउने विविध प्रकारका चाडपर्वहरुले आपसमा सदभावको सन्देश प्रवाह गरेका छन् । अहिले मानिसहरु एक समुदायको चाड पर्वमा अर्को समुदायपनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “त्यसकारण नेपालीहरुलाई विविधता भित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सुत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।”

Loading...