ग्यास्ट्रिक के हो र यसबाट कसरी बच्ने ?

२०७६ वैशाख ९ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । पेटमा हुने एकप्रकारको इन्फेक्सनलाई अम्लपित्त अर्थात् ग्यास्ट्राइटिस भनिन्छ । हाम्रो पेटमा एक किसिमको एसिड (अम्ल) उत्पादन हुन्छ, जसले खाना पचाउनेदेखि खानासँगै पेटमा गएका ब्याक्टेरियालाई मार्नेसम्मको काम गर्छ । यदि, पेटमा अम्ल उत्पादन बढी भएमा त्यसले तन्तु जलाउँछ । जसलाई सामान्य भाषामा ग्यास्ट्रिक भएको भनिन्छ ।

लक्षण

-ग्यास्ट्रिक भएमा पेट फुल्ने वा भरिएको अनुभव हुने, खाना राम्रोसँग नपच्ने हुन्छ । लामो समयसम्म खाना नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने समस्या हुने गर्छ । यसले पाचन   प्रक्रियालाई बाधा पु¥याउँछ । जसले शरीरमा रगत र क्याल्सियमको कमी हुने र अल्सर र क्यान्सरसम्म निम्त्याउने खतरा हुन्छ ।

कारण

-ग्यास्ट्रिक हुनुको प्रमुख कारण खानपानमा गडबडी नै हो । जे पायो त्यही खाने, कहिले धेरै खाने वा खाना नै नखाने, बढी मसालेदार खाना खाने गर्नाले ग्यास्ट्रिक हुने गर्छ ।
-धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ ।
-फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुन्छ ।
-दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि पनि ग्यास्ट्रिकको कारक हुन सक्छ । खासगरी पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ ।
-सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवनका कारणसमेत ग्यास्ट्रिक हुन्छ ।
-कहिलेकाहीँ तनावका कारणले समेत यस्तो समस्या देखिन्छ । पेटको र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुने गर्छ ।

बच्ने उपाय

-समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।
-अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात् साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ ।
-रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले यसबाट बच्न सकिन्छ ।

उपचार

-ग्यास्ट्रिक बिग्रिएमा अल्सर र क्यान्सर हुने सम्भावना रहन्छ । अल्सरका कारण अत्यधिक रक्तश्राव भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ । पछिल्लो समय बजारमा राम्रो गुणस्तरको -औषधि पाइने भएकाले ग्यास्ट्रिकको समस्या पहिलेभन्दा निकै कम भएको पाइन्छ ।
-ग्यास्ट्रिक भएको सुरुवाती चरणमैै खानपान व्यवस्थित र औषधि सेवन गर्ने हो भने यो समयमै निको पार्न सकिन्छ ।
-इन्डोस्कोपीबाट चेकजाँच गरी ग्यास्ट्रिकको चरण पत्ता लगाएर उपचार गरिन्छ । सुरुको चरणमा एसिड उत्पादन कम गर्ने औषधिको सेवनबाट उपचार गर्न सकिन्छ ।
-अल्सर भएमा रक्तश्रावले समस्या आउने भएकाले छुट्टै उपचार गरिन्छ । यसबाहेक क्यान्सर नै भइसकेको चरणमा शल्यक्रियाका माध्यमबाट उपचार गर्नुपर्ने हुन्छ ।