नेकपाले कसरी लगायो ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो?

२०७६ वैशाख ९ सोमवार
NewsDesk ShikharNews
काठमाडौं। अन्ततः एकता भएको ११ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। विशेषगरी पूर्व एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको थियो।
तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी प्रस्ताव राखेपछि सांगठनिक एकताअन्तर्गत नेकपाले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा टुंगो लगाएको नाममा सचिवालयका सदस्यहरुले सहमति जनाएका थिए।
टुंगिएको भागवण्डाअनुसार ४२ जिल्लामा पूर्वएमाले र ३५ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व लिने विषयमा यसअघि नै सहमति भइसकेको थियो।
स्रोतकाअनुसार भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ। सचिव पाएको जिल्लामा पनि तत्कालीन एमालेको अध्यक्ष नै घटुवा भएर जिल्ला सचिव हुने पर्नेछ। पार्टीको निर्णय भएकाले पद लिन्न भन्न नपाइने भएको छ ।
पटकपटक बसेको सचिवालयको बैठकले सहमति जुटाउन नसकेपछि बसेको स्थायी समिति सदस्यले पनि निकास निकाल्न सकेको थिएन । झण्डै छ महिनापछि गठित कार्यदलले पनि एकताको खाका कोर्न सकेको थिएन । स्थायी समिति बैठकबाट गठित सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वको कार्यदलले काम गर्न नसकेपछि भंग गरेर एकताको टुंगो सचिवालयले नै लगाउने निर्णय भएको थियो ।
सोही अनुरुप एक साताअघि चन्द्रागिरिमा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेलसहित बसेको आवासीय बैठकले जिल्ला कमिटीको नेतृत्वको खाका तयार गरेको थियो । लगत्तै अध्यक्षद्वयले असन्तुष्ट वरिष्ठ नेता नेपाल, सचिवालयका सदस्यहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै छलफल गरेका थिए । ओली र प्रचण्डले नेपालको असन्तुष्टिलाई पनि सम्बोधन हुने गरी जिल्लाका अध्यक्ष र सचिवको नामावली टुंगो लगाएको बताइएको छ।
७१ औं पार्टी स्थापना दिवसको अवसरमा आज प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले लामो समयदेखि सांगठनिक एकता प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा जिल्लाको नेतृत्वको टुंगो लगाएको बताए। अब केही दिनभित्रै पोलिटब्युरोको गठन गरी केन्द्रीय सदस्यको कार्यविभाजन हुने भएको छ।
नेकपाले गत जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा तीन महिनाभित्र टुंगो लगाउने भनिएको थियो। पार्टी एकताको घोषणा भएको दिन ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको गठन गरे पनि अहिलेसम्म एक पटक पनि केन्द्रीय समितिको बैठकसमेत बस्न सकेको छैन्। पार्टी एकता भएपछि दुईपटक स्थायी समितिको बैठक बसेको छ। जिल्ला नेतृत्वको टुंगो लगाए पनि जनवर्गीय संगठनहरुको एकताको काम भने अझै केही समय लाग्ने सचिवालयका एक सदस्यले बताए।