चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेनन् : प्रधानमन्त्री

२०७६ वैशाख १० मंगलवार
Newsdesk Shikharnews

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकतामा देश नै खुशी हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलोपटक कम्युनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठूला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनुपर्ने बताए ।

“हाम्रो एकतामा कम्युनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनुपर्छ” प्रधानमन्त्री ओलीले भने, “किनभने यो स्थिरताको सुरुवात हो । देश अघि बढाउने कार्ययोजनाको एकता हो ।”

प्रधानमन्त्रीओलीले काँग्रेसका केही नेताअझै पनि राजतन्त्रब्यूताउँने सपना देखिरहेको बताए । “विगतमा काँग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन । उसको बानी सहयात्रीहरुलाई अविस्वास गर्ने र बिरोधीहरुसँग मिल्ने छ । अहिले पनि त्यो बानी गएको छैन” प्रधानमन्त्री ओलीले भने ।

ओलीले सरकारले देश विकासका निम्ति राम्रा काम गरिरहेको स्पष्ट पार्दै “गान्धारीले आँखामा पट्टी बाधेकी थिइन् र केही देख्दिन थिइन्” प्रधानमन्त्री ओलीले भने, “अहिलेका केही केही मानिसले चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेका छैनन् ।”

अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गतवर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कुनै बेला कम्युनिष्टहरुको अन्तराष्ट्रिय गीत ‘हामी जित्नेछौं एकदिन’ खुब गाउने गरेको प्रसंग निकाल्दै कम्युनिष्टहरुले जितेको दिन भएको बताए । “त्यतिबेला हामी जित्नेछौं । एकदिन भन्ने गीत गाउथ्यौं तर आज हामीले जितेका छौं” प्रधानमन्त्री ओलीले भने, “लामो समयसम्म स्वार्थको राजनीति भएर कम्युनिष्टहरुले जित्न सकेनन् । जब आफ्नो स्वार्थ गौण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्युनिष्टले जित्यो ।”