संसदमा गैर संसदीय शव्द नबोलेको प्रम ओलीको दावी

२०७६ जेठ २ बिहीवार
Newsdesk Shikharnews

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूले गैह्रसंसदीय शब्द प्रयोग नगरेको बरु अरुले प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले अभिलेखबाट हटाएको स्पष्ट पारेका छन् । भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले संसद् मर्या्िदत थलो भएकाले यसको मर्यादा राख्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको जनाउँदै भने, “विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ, त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरु अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वाेच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वाेच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो । यो अनाहक र अनुचित ढङ्गले आएको छ ।”

सभामुख कृष्णबहादुर महराले वैशाख २७ गतेको बैठकमा सो क्रममा प्रयोग भएका सबै असंसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

संसद्मा हालै दर्ता भएका केही विधेयकमा उठेका प्रश्नबारे प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै उनले सरकारले अघि सारेका विधेयकमा संसलमा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको जनाए । ती विधेयकलाई संसद्ले यथोचित रुपमा पारित गर्ने विश्वास उनले व्यक्त गरे । सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे नेपाल पत्रकार महासङ्घले विरोध गर्दै आएको छ ।

प्रधानमन्त्री ओलीले भने, “असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो । विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ । आवेग र उत्तेजनामा आउन आवश्यक छैन । सरकारले कुनै पनि कानून हचुवाका भरमा ल्याउँदैन । आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरुले समाजलाई विकृतितर्फ लैजान्छ ।”