आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा

२०७६ जेठ २ बिहीवार
Newsdesk shikharnews

बाँके। आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ। सरकारले निर्माण गरेका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र चुस्त ब्यवस्थापन गर्नुपर्ने आवाज सबैतिरबाट उठ्न थालेको छ। आठौं प्रतियोगिता सम्पन्न भएपछि झण्डै एक अर्ब रुपैयाँमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको पनि भएको ठान्ने भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी शमसुद्दिन सिद्दिकीले सबैले यसतर्फ चासो राख्नुपर्ने बताए। उनी नेपालगञ्ज रङ्गशालामा निर्माण भएका भौतिक संरचनाको संरक्षणका लागि हरेक दिन रङ्गशाला पुग्छन्।उनका अनुसार वैशाख १२ देखि नै संरक्षणको जिम्मा यहाँका खेलाडी, खेलप्रेमी, सरोकारवाला निकाय र नेपालगञ्जवासीको काँधमा आएको छ। उनले भने – “नेपालगञ्जमा बनेका संरचनाले हाम्रो गौरव बढाएको छ । यसको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्न सकेमात्र हामी र हाम्रो गौरव कायम रहन्छ।” नेपालगञ्ज उपमहानगरका प्रमुख डा धवलशमशेर राणा नेपालगञ्जमा निर्माण भएका खेल संरचनाले नेपालगञ्जलाई खेलकूदको शहर बनाउन मद्दत गरेको बताउँछन। ।

“खेलकूद राज्यको हो भन्ने भावनालाई त्यागेर यो सबैको साझा सम्पत्ति हो भन्नुपर्ने बेला भएको छ,” उनले भने। नेपालगञ्जलाई खेल पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना आठौंका बेला निर्माण भएका संरचनाले दिएको बताउँदै उनले सबैको सहयोग भए उपमहानगरपालिका बजेट विनियोजन गर्न तयार रहेको स्पष्ट पारे।उनले भने– “नगरमा भएका सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व हामी सबैको हो । सबैले चासो दिए मात्र संरक्षण गर्न सम्भव छ। नत्र आठौंले नेपालगञ्जलाई दिएको उपहार खेर जानेछ।” नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ निर्माण भएका संरचनाको संरक्षण र निर्माणका क्रममा रहेका संरचना पूरा गराउन नागरिक समाजले नजीकबाट नियाल्नुपर्ने बताउँछन।“भौतिक संरचना निर्माणका क्रममा नागरिक समाजका अगुवाले अनुगमन गर्नुपर्ने हो तर, त्यो गर्न सकेनौ, यसमा हाम्रो पनि दोष छ,” उनले भने– “अब बनिसकेका संरचनाको संरक्षण गर्ने दायित्व हाम्रो काँधमा आएको छ।” निर्माण भएका संरचना व्यवस्थित रुपमा उपयोग गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने उनको विचार छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य आठौं राष्ट्रिय प्रतियोगिताले नेपालगञ्जको पहिचान बदल्ने संरचना उपहार दिएको ठान्छन्। उनका अनुसार बनेका संरचनाको स्याहार, सम्भार गर्न सके नेपालगञ्ज खेलकूदको ‘हब’ बन्नेछ। सीतापुरमा निर्माण भएको भलिबल रङ्गशाला संरक्षण नभए खण्डहर बन्ने खजुराका समाजसेवी ऋषि पोख्रेलले चिन्ता व्यक्त गरे।

उनका अनुसार यी संरचनाको संरक्षणका लागि स्थानीय तह र खेलसँग सम्बन्धित निकायले चासो दिनुपर्छ। “लाखौँ रुपैयाँ खर्चेर बनाइएको संरचना लागुऔषध प्रयोग गर्ने थलो बन्ने चिन्ता छ,” उनले भने। संरक्षणका लागि बजेट खोजिँदै प्रदेश ५ खेलकूद परिषद्का अध्यक्ष भीम वलीले आठौं खेलकूद सकिएसँगै यसले दिएको उपहार संरक्षण गर्ने चिन्ता थपिएको बताए। संरक्षणका लागि प्रदेश खेलकूद परिषद्सँग बजेट नभएकाले पाएको सम्पत्ति गुम्ने खतरा बढेको उनको भनाइ छ। खेलकूद परिषद् एक्लैले संरक्षण गर्न नसक्ने भन्दै उनले सहयोगका लागि विभिन्न सङ्घसंस्थासँग अपील गरेका छन्। रु ४० लाख खर्चिएर रोपेको दुबो सुक्ने खतरा बढेको छ। आठौं राष्ट्रिय खेलकूद अन्तर्गत प्रदेश ५ मा बनाइएका खेल पूर्वाधार संरक्षणका लागि सञ्चालन कार्यविधि बनाइने भएको छ। बाँकेमा मात्रै आधा अर्बका खेल पूर्वाधारहरु निर्माण गरिएका छन्। यद्यपि, केही खेल पूर्वाधारहरु भने अझै निर्माणकै क्रममा छन्। अधुरा खेल संरचनालाई पूरा गर्न तीव्रताका साथ निर्माण कार्य अगाडि बढाइएको प्रदेश ५ का अध्यक्ष वलीले बताए। “यसै महिना कार्यविधि जारी गर्ने गरी आन्तरिक तयारी थालिएको छ,” वलीले भने– “सञ्चालन कार्यविधिले प्रदेश ५ मा बनाइएका खेल संरचनाहरु व्यवस्थित हुनेछन्।” बाँकी रहेका खेल पूर्वाधारको निर्माण पनि यसै आवभित्र सक्ने लक्ष्य राखिएको छ। खेल पूर्वाधारहरुको निर्माण सक्न राखेप र मन्त्रालयसँग आवश्यक बजेट माग गर्ने तयारी भैरहेको छ। बाँकेमा यतिखेर ह्याण्डबल कोर्ट, पौडी पोखरी, भारत्तोलोन एकेडेमी, भलिबल स्टेडियम, जुडो र नेपाल रङ्गशालाको फुटबल मैदानको अन्तिम चरणका काम भैरहेका छन्।