मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान

२०७६ जेठ ६ सोमवार
Newsdesk Shikharnews

काठमाडौं । भारतमा लोकसभाका लागि विभिन्न चरणमा भएको मतदान आइतबार अन्तिम चरणको मतदान भएसँगै सकिएको छ । मतदान सकिएपछि आगामी सरकार कसको बन्छ भन्ने अनुमानहरु भइरहेका छन् ।

भारतीय टिभी च्यानलहरुले मतदान गरेर फर्केका मतदाताहरुलाई प्रश्न सोधेर तयार पारिएको एग्जिट पोल मतदान सकिएसँगै सार्वजनिक गरेका छन् । मतदान अघि भएको समाचारहरुको उलट सबै सर्वेहरुले सत्तारुढ गडबन्धनले नै बहुमत ल्याउने अनुमान गरेका छन् ।

सबैभन्दा चकित पार्ने गरि सर्वेको नतिजा सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशको आएको छ । यहाँ मायावाती नेतृत्वको बहुज समाजवादी र अखिलेश यादव नेतृत्वको समाजवादी तथा अर्को एक दल मिलेर महागठबन्धन बनेको थियो । यो गठबन्धनले भाजपाको लहरलाई रोक्ने अनुमान विपरित एग्जिट पोलहरुले भाजपालाई अत्याधिक सिट प्राप्त हुने अनुमानहरु सार्वजनिक भएका छन् ।

न्यूज २४ चाणक्यले उत्तर प्रदेशमा भाजपालाई ६५ सिट दिएको छ भने महागठबन्धनलाई १३ सिट दिएको छ भने काँग्रेसलाई २ सिट दिएको छ । यहाँ काँग्रेस अध्यक्ष राहुल गान्धी तथा उनकी आमा पूर्व अध्यक्ष सोनिया गान्धीलेमात्र जित्ने उसको अनुमान छ ।

यस्तै इण्डिया टूडे एक्सिसले पनि भाजपालाई ६२–६८ सिट दिएको छ भने महागठबन्धनलाई १० देखि १२ सिट दिएको छ । यस्तै काँग्रेसले एक वा दुई सिट जित्ने अनुमान गरेको छ । यो एग्जिट पोलले अमेठिबाट राहुल गान्धी पराजित हुन सक्ने अनुमान गरेको छ ।

उत्तार प्रदेशमा दुई वटा एग्जिट पोललेमात्र महागठबन्धनले बहुमत सिट जित्ने अनुमान गरेका छन् । एबीपी न्यूजले भाजपाले ३३ र महागठबन्धनले ४५ सिट जित्ने अनुमान गरेको छ भने काँग्रेसले दुई सिट जित्ने अनुमान गरेको छ । अर्को सर्वे रिपब्लिक सि भोटरले भाजपाले ३८ र महागठबन्धनले ४० सिट जित्ने अनुमान गरेको छ । अन्य सबैले यहाँ भाजपाले बहुमत जित्ने अनुमान गरेका छन् ।

सबै एग्जिट पोलहरुले भाजापा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने अनुमान गरेका छन् । ५४३ सिट मध्ये बहुमत ल्याउन २७२ सिट आवश्यक पर्छ । मतगणना भने आगामी मे २३ मा हुनेछ ।