शनिबार भुलेर पनि यी सामग्री घरमा नल्याउनुस

२०७६ जेठ १८ शनिवार
Newsdesk Shikharnews

नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक थुप्रै मूल्य मान्यताहरू रहेका छन् र त्यस्ता कतिपय मान्यताहरू हामी चाहेर पनि नकार्न सक्दैनौ । वैदिक सभ्यता अनुसार चलेको हाम्रो समाजका पूर्खाहरुले परापूर्वकालदेखि नै हाम्रा लागि यस्ता नीति नियम र मुल्यमान्यताहरु स्थापित गरिदिएका छन्, जुन अहिले पनि हाम्रा लागि निकै शान्दर्भिक मानिदै आएका छन् । पछिल्ला वर्षहरुमा समयको परिवर्तनसँगै र पश्चिमी संस्कृति हावी हुँदा हाम्रा त्यस्ता मौलिक रितिरिवाज र परम्परा रुढीबादी जस्तो लागे पनि यत्ति चाँही निश्चय भन्न सकिन्छ, हाम्रा पुर्खाहरु र ऋषीमुनिहरुले वर्षौको अनुसन्धान र तपस्याबाट परिमार्जित गरेका त्यस्तो केही तथ्यहरुमा वैज्ञानिक कारण पनि रहेको छ । हाम्रा पूर्वजहरूले मान्दै आएका कतिपय कुराहरू शनिबारसँग पनि जोडिएका छन् । शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरूले थुप्रै नियम बनाएका छन् ।

ज्योतिषशास्त्रका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरू छन् जसलाई शनिबारका दिन हामीले नगर्दा वेश हुन्छ ।

तेल
तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ता
शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न
शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

नुन
घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलाम
शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।