विश्व कपमा बंगलादेशको धमाकेदार जित, दक्षिण अफ्रिकाको दोस्रो हार

२०७६ जेठ २० सोमवार
Newsdesk Shikharnews

काठमाडौं । इंग्ल्याण्ड एण्ड वेल्समा जारी विश्व कप क्रिकेटको चौथो दिन आइतबार बंगलादेशले धमाकेदार जितका साथ प्रतियोगिता शुरुआत गरेको छ ।
ऐतिहासिक जित हात पार्नेक्रममा बंगलादेशले ओभल मैदानमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो । ३३१ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ८ विकेटमा ३०९ रनमात्र बनाउन सक्यो ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा कीर्तिमानी स्कोर बनाएको बंगलादेशले जित हात पर्दा दक्षिण अफ्रिका भने दोस्रो हार ब्यहोर्न बाध्य भयो ।
टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ओडिआईमा आफ्नो उच्च स्कोर को कीर्तिमान बनाउनेक्रममा ६ विकेटमा ३३० रन बनायो । यसअघि उसको ३२२ रनको कीर्तिमान थियो ।

विशाल लक्ष्य पाएको दक्षिण अफ्रिकाका लागि ठिकठाक शरुआत भए पनि टिम जित्न सकेन । दक्षिण अफ्रिकाका लागि कप्तान फप डू प्लेसिले ६२ रन बनाए भने जेपी डूमिनी र मार्कमले ४५–४५ रन बनाए । यस्तै भान डेर डुसेनले ४१ रन बनाए ।

बंगलादेशका लागि मिस्ताफिजुर रहमानले ३ विकेट लिए भने मेहन्दी हसन मिर्जाले २ विकेट लिए ।

यसअघि मुस्फिकर रहिमले ७८ र सकिब अल हसनले ७५ रन बनाएपछि वंगलादेशले विशाल स्कोर बनाएको हो । जितपछि अंक तालिकामा बंगलादेशले २ अंक जोडेको छ भने आफ्ना दुबै खेल गुमाएको दक्षिण अफ्रिका अंकबिहीन छ ।