ला लिगामा म्याच फिक्सिङ, रोनाल्डोको क्लवको संलग्नता

२०७६ जेठ २१ मंगलवार
Newsdesk shikharnews

काठमाडौं। स्पेनको फुटबल लिग ला लिगामा म्याच फिक्सिङ भएको खुलासा भएको छ । ला लिगाको यस सिजनको अन्तिम दिन भएको रियल भालाडोलिड र भ्यालेन्सियाबीच भएको खेलमा म्याच फिक्सिङ भएको रेकर्ड गरिएको फोन कुराकानीले प्रमाणित गरेको स्पेनिस अखबार एल मुण्डोको हवाला दिँदै स्पेनिस मिडिया मार्काले लेखेको छ । यो खेल भ्यालेन्सियाले २–० ले जितेको थियो ।यो खेलमा हारेको टिम रियल भालाडोलिड ब्राजिलका पूर्व स्टार खेलाडी रोनाल्डो नाजारियोको क्लव हो । यो क्लवमा रोनाल्डोको सबेभन्दा धेरै लगानी छ र उनी क्लवका अध्यक्ष पनि हुन् । म्याच फिक्सिङ भएको यो खेल आगामी सिजको लागि निर्णायक खेल थियो । यही खेल जितेपछि भ्यालेन्सिया आगामी सिजनको लागि च्याम्पियन्स लिगका लागि छनोट भएको थियो ।

यो खेल हुनुअघि नै रियल भालाडोलिडले ला लिगामा कायम रहनको लागि स्थान सुरक्षित गरिसकेको थियो तर भ्यालेन्सियाको च्याम्पियन्स लिगमा स्थान सुरक्षित भइसकेको थिएन । च्याम्पियन्स लिगमा ला लिगाका शीर्ष ४ टिम जान पाउने नियम छ । यो खेलअघि बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल मड्रिडले क्रमशः पहिलो दोस्रो र तेस्रो हुँदै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरिसकेका थिए ।चौथो स्थानको लागि भ्यालेन्सिया र गेटाफेबीच प्रतिस्पर्धा थियो । अन्तिम खेलमा गेटाफेले भिल्लारियलसँग बराबरी खेल्यो तर भ्यालेन्सियाले जित्यो । यो खेल जितेर ६१ अंकसहित भ्यालेन्सिया तालिकामा चौथो हुँदै च्याम्पियन्स लिग पुग्यो । यदि भ्यालेन्सियाले यो खेल हारेको भए उसको अंक ५८ मात्र हुन्थ्यो र ५९ अंकको गेटाफे चौथो हुँदै च्याम्पियन्स लिग पुग्थ्यो ।

म्याच फिक्सिङको अभियोगमा राउल ब्राभो, कार्लोर अरान्डा र बोर्जा फर्नान्डेजलाई पक्राउ गरिएको थियो । अहिले उनीहरुलाई अदालतमा उपस्थित गराउनुअघि तारिखमा छाडिएको छ । स्पेनिस पत्रिका एल मुण्डोले म्याच फिक्सिङको सबै कुराकानी प्रकाशित गरेको छ ।‘सात जना खेलाडीलाई घुस दिइएको छ अरुलाई होइन’ रेकर्डिङमा सुनिएअनुसार अरान्डाले फोनमा एक व्यक्तिलाई भनेका छन् ‘१० हजार युरो दाउमा लगाउनु अनि तिमीले २० हजार युरो जित्छौ ।’ एल मुण्डोको समाचार अनुसार राउल ब्राभो बोर्जा फर्नान्डेजलाई भेट्न भालाडोलिड गएका थिए । यसबाहेक भालाडोलिडका विंगर केको गोन्टानको घरमा खेलाडीहरुबीच बैठक भएको थियो ।

अरान्डाले फोनमै अर्का एक साथीलाई पनि यो खेलमा बारेमा भनेका छन् । ‘हेर साथी भ्यालेन्सियाले पहिलो हाफ र दोस्रो हाफ जित्दैछन्, ओके रु’ उनले भनेका छन् ‘मलाई सुन, उनीहरु पहिलो हाफ र दोस्रो हाफ जित्दैछन्, ओके रु’ उनले अगाडि भनेका छन् ‘उनीहरु पहिलो हाफ र दोस्रो हाफ दुवै जित्नेछन् । उनीहरुले जित्ने मात्र होइन उनीहरुले २ गोल गर्नेछन् एउटा पहिलो हाफमा अर्को दोस्रो हाफमा । उनहिरुले पहिलो र दोस्रो हाफ दुवै जित्नेछन् । हेर, तिमीलाई थाहा छ यो के हो । कसैले थाहा पाउन सक्दैन तर तिमीलाई थाहा छ यो के हो । कोहीले पनि थाहा पाउनु हुँदैन । कोही पनि होइन मतलब कोही पनि होइन । तिम्रा साथीले पनि थाहा पाउनु हुँदैन, कसैले पनि थाहा पाउनु हुँदैन ।’